
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले पुर्नवहाली भएका आफ्ना सांसदहरुलाई सरकारबाट फिर्ता बोलाउने भएको छ । सर्वोच्च अदालतले पुर्नवहाली गरेका कर्णालीका ४ सांसदमध्ये ३ जना मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकारमा मन्त्री छन् ।
कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री हुनुहुन्छ । उहाँहरू माधवकुमार नेपाल पक्षका हुन् ।
मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गरेका उहाँहरुलाई वैशाख ४ गते मन्त्रीमा नियुक्त गरिएको थियो । शुक्रबारको संसद बैठकमा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीको संसदीय दलमा संरचना बद्लिएको बताउनुभयो ।
फ्लोर क्रस गरेपछि एमाले प्रदेश संसदीय दलको सिफारिसमा ४ जनालाई महाधिवेशन आयोजक कमिटीले सांसद र पार्टीबाट निष्काशन गरिदिएको थियो ।
न्यायाधीश प्रकाशसिंह राउतको बुधबारको एकल इजलासले कारबाहीमा परेका प्रकाश ज्वालासँगै शाही, थापा र बुढालाई पुर्नवहाली गर्न अन्तरिम आदेश दिएको थियो ।





