बाढि पिडितको तत्काल उपचार गराउन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को माग

काठमाण्डौं । नेपालमा मनसुनको प्रवेशसँगै केही दिन यता भइरहेको अविरल वर्षाका कारण देशभर बाढी पहिरोले ठुलो रुपमा जनधनको क्षति पुगेको छ ।

बाढी पहिरोमा परी जीवन गुमाउने सबैप्रति अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुका साथै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

केन्द्रले एक बिज्ञप्ति जारी गर्दै मुलुकको दुई तिहाइ जनसंख्या ओगट्ने किसानहरूले आफ्नो मुख्य बाली धानका साथै कोदो, भटमास, मौसमी तथा बेमौसमी बर्खे तरकारी तथा सदाबहार फलफूल रोप्ने र चैते धान भित्राउने समयमा बाढी, पहिरो र डुबानका साथै सिँचाइको नहर, कुला र कुलेसाहरू भत्काउने, थुनिने, पाइपहरू बगाएर लैजाने लगायतका समस्याहरु भोग्न बाध्य भएको उल्लेख गरेको छ ।

कैयौँ किसानहरुका घरगोठका साथै बिउ ब्याड, बालीनाली, पशुपन्छी तथा चौपायाहरू बगाउने र पुरिने भएको छ भने ठुलो संख्यामा जनताको घरगोठ तथा खेतबारी जोखिममा परेकोले सन्त्रासको वातावरणमा जिउन बाध्य हुनु परेको बिज्ञप्तिमा उल्लेख छ ।

नेपाली जनताले दुईतिहाइ बहुमत प्रदान गरेर सरकारको नेतृत्व गर्ने अवसर प्रदान गर्दा समेत केपी ओली सरकारले पर्यावरणको संरक्षण गर्दै विकास निर्माणलाई अगाडि बढाउन दिगो विकास सम्बन्धी ठोस नीति तथा कार्ययोजना तयार गर्न नसक्नु, विना पूर्वयोजना जथाभावी रुपमा बाटो खन्ने, खोला नाला च्यापेर निर्माण कार्य गर्ने, पूर्वाधार निर्माण सम्बन्धी कुनै ठोस आर्थिक तथा वातावरणीय मापदण्ड तयार गर्न नसक्नुका कारणले देशव्यापीरूपमा भयावह स्थितिको सामना गर्नु केन्द्रको भनाई छ ।

बिज्ञप्तिमा भनिएको छ, जतिसुकै नीच र तल्लोस्तरका क्रियाकलाप गरेर भएपनि आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा सँधैभरि व्यस्त प्रधानमन्त्री केपी ओली र उहाँको सरकारसँग यस्ता प्राकृतिक प्रकोपहरू आउन नदिन, आइहालेमा तिनको सामना, रोकथाम र नियन्त्रण गर्दै नागरिकहरूको जिउधनको रक्षा गर्न राज्यको तर्फबाट गर्नुपर्ने कुनै पूर्वतयारी थिएन । जसका कारण एकातिर ठुलो संख्यामा जनधनको क्षति भएको छ भने अर्कोतर्फ बाँचेकाहरूले पनि उद्दार र राहतको महसुस गर्न सकेका छैनन् र दर्दनाक अवस्था भोग्न वाध्य छन् ।

केन्द्रले प्रकोपमा परी जीवन गुमाउने र प्रभावित परिवारहरूलाई तत्काल राहतको व्यवस्था गर्न, घाइतेहरूको तत्काल स्वास्थ्योपचार गराउन, भत्किएका र नष्ट भएका संरचनाहरू तत्काल पूनर्निर्माण गरी खेतीपाती गर्ने वातावरण तयार गर्न र देशव्यापीरूपमा रासायनिक मलको हाहाकारको स्थिति भएकोले तत्काल मल उपलब्ध गराउन हामी नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

साथै, संविधान र कानुन विपरीत अध्यायदेशबाट ल्याइएको बजेटमार्फत अघि सारिएका भूमि बैंकका साथै कन्ट्य्राक्ट फार्मिङ, कृषि क्षेत्रमा विदेशी लगानी भित्राउने र कृषि क्षेत्रको बजेट घटाउने जस्ता किसान विरोधी निर्णयहरूको घोर भत्र्सना गर्दै तिनलाई तत्काल सच्चाउन पनि जोड्दार माग गरेको छ ।

Previous articleभारतबाट फर्किने नेपालीलाई ६० हजार बढी मास्क वितरण
Next articleस्वतन्त्र पत्रकार संघद्धारा महासँघलाई १५ हजार सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here