
सुर्खेत । कर्णाली प्रदेशमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो ।
प्रदेशमा माग अनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी संघ कर्णाली प्रदेशले बताएको छ । लकडाउनको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको संघका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले बताउनुभयो ।
‘दुई महिनाको बन्दले एकातिर व्यवसाय पूर्णरूपमा बन्द छ भने अर्कोतिर नेपाल राष्ट्र बैंकबाट उपलब्ध हुने सुन समानुपातिक ढंगले वितरण हुँदैन,’ उहाँले भन्नुभयो, ‘यसले गर्दा यो दुई महिनको अवधिमा १६ करोड रुपैयाँको कारोबार हुन सकेन ।’
अध्यक्ष सुनारका अनुसार नेपाल राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासंघलाई दैनिक २० किलो सुन उपलब्ध गराउँदै आएकामा रत्न आभूषण तथा पत्थर व्यवसायी महासंघलाई ४० प्रतिशत र सुनचाँदी व्यवसायी महासंघलाई ६० प्रतिशत छुट्याउने गरिएको छ । सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी वितरण कार्यविधि, २०६८ का आधारमा त्यो ६० प्रतिशतलाई १०० प्रतिशत मानेर ६० प्रतिशत काठमाडौं उपत्यका र ४० प्रतिशत बाहिर पठाउँछ ।
चालिस प्रतिशत सुन उपत्यका बाहिरका महासंघमा आबद्ध ४०–४५ जिल्लाका व्यवसायी संघलाई पठाउँदा मागअनुसारको पूर्ति हुन नसकेको अध्यक्ष सुनारले बताउनुभयो । ‘कर्णालीमा करिब १० किलो सुन आवश्यक पर्दछ, तर मासिक एकदेखि तीन किलो सुन आउने गरेको छ,’ उहाँने भन्नुभयो, ‘यसले सुन वितरण प्रणालीमा विभेदीकरण बढ्दै गएको छ । यो अवस्था हटाउन सातै प्रदेशस्थित संघका अध्यक्षहरुले स्थायी लेखा नम्बर ९प्यान०का आधारमा सुन वितरण माग राख्दै आएका छौं ।’
सरकारले महासंघलाई दैनिक ४०÷५० किलो सुन उपलब्ध गराउनुपर्नेमा जोड दिनुपर्ने उहाँको भनाइ छ । ‘हामीले लुटिने, मारिने असुरक्षाका बीचबाट अहिलेसम्म काठमाडौँ पुगेर सुन ल्याउनुपर्ने बाध्यता छ,’ सुनारले भन्नुभयो, ‘तर अब नेपाल राष्ट्र बैंकको कार्यालय कर्णालीमा स्थापना भइसकेकाले यहीँबाट सुन वितरणको व्यवस्थापन मिलाउन आग्रह गर्दछौँ ।’
५० लाख घाटा
कर्णालीका सुनचाँदी व्यवसायीलाई दुई महिनाको अवधिमा ५० लाख रुपैयाँ बराबरको घाटा भएको छ। निषेधाज्ञाले सुनको कारोबार ठप्प हुँदा घाटा बेहोर्नु परेको अध्यक्ष सुनारले बताउनभयो ।
‘कर्णाली प्रदेशभरिमा ६०० सुन व्यवसायी छन्। एक जना व्यवसायीसँग दुई÷तीन कालिगडले काम गर्छन्,’ उहाँले भन्नुभयो, ‘ती सबैको व्यवसाय बन्द हुँदा यो दुई महिनाको अन्तरालमा करिब एक हजार ५०० कालिगडको जागिर खोसिएको छ भने सुन व्यवसायीले पनि लाखौँको घाटा बेहोर्नुपरेको छ ।’ काँचो सुन नहुँदा धेरै कालिगड बेरोजगार रहेको उहाँको भनाइ छ ।
सुनारले कर्णालीमा मासिक १० किलो सुन आउन सके करिब चार हजारलाई रोजगार दिन सकिने दाबी गर्नुभयो । यद्यपि, पहुँचका आधारमा सुन वितरण हुने परम्पराले कर्णालीमा सुन अभाव हुँदै गएकाले तत्काल सबै व्यवसायीलाई प्यानका आधारमा सुन वितरण गर्न संघ, कर्णाली प्रदेशले सरकारसँग माग गरेको छ। रासस





