राप्ती सोनारी गाउँपालिकाले कर नबढाउने

राप्तीसोनारी । राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ मा कुनै पनि कर नबढाउने भएको छ । गाउँपालिकाको जारी नवौं गाउँ सभाले यस्तो निर्णय गरेको
हो ।

गाउँपालिकाको कार्यालय अगैयामा मंगलबार गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सभा बसेको गाउँसभाले कुनैपनि बस्तुमा कर नबढाउने निर्णय गरेको हो । कर नबढाउने प्रस्तावलाई गाउँसभाका बहुमत सदस्यले सर्मथन गर्नु भएको थियो ।

सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले आगामी वर्षका लागि करको दायरा नबढाउने बताउनु भयो । गतवर्षकै करलाई यथावत गरिएको उहाँको भनाई थियो । ‘हामीलाई प्राप्त सुझाव अनुसार आगामी वर्षको लागि कुनैपनि कर बढाएका छैनौ, गतवर्ष कै करलाई यथावत राखेका छौँ,’ उहाँले भन्नुभयो ।

सो क्रममा बोल्दै सभाका सदस्य टिकाराम बस्नेतले जनताको ढाँड सेक्ने गरी गाउँपालिकाले आगामी वर्षका लागि कर बढाउन नहुने धारणा राख्नु भएको थियो । जनप्रतिनिधी भएर काम गर्ने यो नै अन्तिम वर्ष भएको बताउँदै जाने बेलामा जनतालाई करको भारी बोकाउन नहुने तर्क गर्नुभयो ।

सभाका सदस्य जितबहादुर थारुले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ जनसंख्याको हिसाबले ठुलो वडा भएपनि बजेट कम विनियोजन भएको बताउनु भयो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष एवम् सभाका सदस्य रामलखन थारुले गाउँपालिकाले गरेका निर्णय कार्यान्वयन हुनुपर्ने सुझाव दिनुभयो ।

गाउँपालिकाले कतिपय निर्णय गरेपनि त्यसलाई कर्मचारीको संयन्त्रले कार्यान्वयनमा कन्जुस्याई गरेको उहाँको भनाई छ । सो क्रममा गाउँ सभाका सदस्य रामलौटन थारु, रति ओली लगायतले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

सभामा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, ९ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यको उपस्थिती रहेको थियो । यही असार १० गतेबाट सुरु भएको सभामा आगामी वर्षको बजेट, गाउँपालिकाको समग्र विकास गर्ने विषयमा छलफल भएको छ । गाउँपालिकाको नवौं सभा यही असार २९ गते दिउँसो १ बजे पुनः बस्ने तय भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिनुभयो ।

Previous articleअदालतद्धारा न्यायिक प्रक्रियाबारे निरिक्षण, डुडुवा उत्कृष्ट
Next articleबाँकेमा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here