
नेपालगञ्ज । बाँकेमा चालू आर्थिक वर्षमा पाँच जना डेंगुका विरामी भेटिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले आज डेंगु तथा अन्य किटजन्य रोग रोकथाम तथा लामखुट्टेको लार्भा नष्ट सम्बन्धि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा चालू आर्थिक वर्षको हालसम्म जिल्लामा पाँच जनामा डेंगु संक्रमण देखिएको जानकारी दिइएको हो ।
नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एउटा ग्यारेजमा काम गर्ने मजदुर र पाहुनामा डेंगु देखा परेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन रत्नलाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, आर्थिक वर्ष २०७६÷७७ मा ९१ जनामा डेंगु देखिएको थियो भने ०७५÷७६ मा २४ जनामा डेंगुका बिरामी फेला परेका थिए ।
सन् २००६ मा बाँकेमा पहिलो पटक डेंगुका बिरामी फेला परेका थिए । डेंगु, मलेरिया, चिकन गुन्या, कालाजार, स्क्रव टाइफस लगायतका किटजन्य रोगबाट बाँके पनि उच्च जोखिममा छ । किटजन्य रोगबाट जोगिन वातावरण सरसफाईमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् ।





