
नेपालगञ्ज । जिल्लामा स्थानीय तह (वडा) बाल विवाह मुक्त घोषणा हुने कार्यले तिब्रता पाएको छ । केही दिन अघि मात्रै दुई वटा स्थानीय तह बाल विवाह मुक्त वडा घोषणा भएका थिए ।
केही दिनको अन्तरालमा पुन: जिल्लाका दुई स्थानीय तह (वडा) बाल विवाह मुक्त हुन लागेका छन् । बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ र २ बाल विवाह मुक्त घोषणा हुँदैछन् ।
यसअघि नेपालगञ्जकै वडा नं १० र १२ बाल विवाह मुक्त वडा घोषणा भएका छन् भने पुन: नेपालगञ्जका थप दुई वडा घोषणा हुन लागेका हुन ।
नेपालगञ्ज उपमहानगरपालिका स्तरीय बाल अधिकार समिति, वडा कार्यालय, प्लान इन्टरनेशल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) को समन्वय सहकार्यमा यी दुई वडालाई बिहीबार बाल विवाह मुक्त घोषणा गर्न लागिएको जनाइएको छ ।
जिल्लामा स्याक नेपालले बाल विवाह मुक्त अभियान नामक परियोजना समेत संचालन गर्दै आएको छ । यही परियोजनाको नेतृत्वमा जिल्लाको अन्य पालिका वडाहरुलाई पनि घोषणा गरिएको छ ।
परियोजना प्रबन्धक जगदिश थापाका अनुसार नेपालगञ्ज वडा नं १ मा वार्षिक कुल विवाहको १३ दशमलव ५५ प्रतिशत र वडा नं २ मा वार्षिक कुल विवाहको १३ दशमलव ६९ प्रतिशत बाल विवाहको अवस्था देखिएको छ ।
बाल विवाह मुक्त अभियान संचालन निर्देशिका २०७७ मा बाल विवाह मुक्त घोषणा गर्नका लागि निर्देशिकामा भएको १३ वटा सूचकहरु पुरा भएको र त्यसमध्येको २० प्रतिशत भन्दा कम बाल विवाहको अवस्था देखिएपछि वडालाई बाल विवाह मुक्त घोषणा गर्न सकिने व्यवस्था रहेको छ ।
सोही अनुसार वडालाई बाल विवाह मुक्त घोषणा गर्न लागिएको आयोजकले जनाएका छ । यसअघि गत २६ गते शनिबार पनि नेपालगञ्जको वडा नं १० र १२ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।





