
नेपालगञ्ज । आफ्नो पर्वमा राष्ट्रिय विदाको माग गर्दै मुस्लिम समुदायले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । नेपाल मुस्लिम संघ बाँकेले आज प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भेटेर आफुहरुको पर्वमा राष्ट्रिय विदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको मुस्लिम संघ बाँकेका कोषाध्यक्ष वफादी वेहनाले जानकारी दिनुभयो ।
मुस्मिल समुदायले आफ्नो महत्वपूर्ण पर्व इदुल अजहा अर्थात बकर इदमा विदाको माग गरेका हुन् । यसअघि राष्ट्रिय विदा दिँदै आइएकोमा केपी ओली सरकारले त्यसलाई कटौति गरेको उनीहरुको भनाइ छ । मुस्लिम समुदायका अगुवा आरिफ अन्सारीले सम्पूर्ण कार्यालय बन्द हुने गरी राष्ट्रिय विदा दिनु पर्ने माग गर्नुभयो ।
मुस्लिम समुदाय पनि यही देशका नागरिक भएकाले विभेद नगर्न मुस्लिम संघका अध्यक्ष एंव प्रदेशसभा सदस्य याकुव अन्सारीको भनाइ छ । सो अवसरमा नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष निजामुद्दिन अन्सारी, मुस्लिम संघका क्षेत्रीय सभापति फरिदुल हक, सचिव जाबिर अलि बेहना लगायतको उपस्थिति रहेको थियो ।





