
खजुरा । बाँकेको खजुरा गाउँपालिकाले शिक्षामा बैकल्पिक प्रणालीबाट सिकाई सहजिकरणको लागि आवश्यक तयारी पुरा गरेको छ । खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गापालिकाले शिक्षालाई पहिलो प्राथामिकतामा राखेको बताउनु भयो ।
आईतबार खजुराको ज्ञानोदय नमुना मावि खजुरामा वैकल्पिक प्रणालीबाट सिकाई सहजिकरणको लागि आईसिटी कार्यक्रम अन्तरगत शिक्षकलाई ल्यापटप वितरण, अनलाईन कक्षाको सुभारम्भ र राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत कम्प्युटर ल्याब उद्दघाटन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले खजुराले ‘संबृद्ध खजुराको लागि शिक्षामा प्राविधिको आवश्यकता, प्रबिधिमैत्री साधारण तथा प्रविधिक शिक्षामा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पालिकाका १४ माध्यामिक र ६ आधारभूत तहका विद्यालयमा आईसिटी मैत्री शिक्षण सिकाई प्रबिधि सुरु गर्नको लागि चारवर्ष अघि पालिकाले प्रत्यक विद्यालयलाई ल्यापटप, स्र्माट वोर्ड र प्रजेक्टर उपलब्ध गराएको बताउनु भयो ।
ज्ञानोदय नमुना मावि खजुराले चालु शैक्षिक सत्रमा अनलाईन शिक्षण सिकाईको लागि सहज होस भनेर विद्यालयका सबै शिक्षकलाई एक–एक थान ल्यापटप उपलब्ध गराईएको विद्यालयका प्रअ ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको कारण भौतिक उपस्थितिमा शिक्षण सिकाईको गतिविधि सञ्चालन हुन नसकेको अवस्थामा बैकल्पिक माध्यामबाट प्रविधिको प्रयोगले सहज बनाउन खजुरा गाउपालिकाले सबै शिक्षकलाई आसिटी मैत्री कक्षा सञ्चालनको लागि विभिन्न तालिम सम्पन्न गरी कक्षा सञ्चालनको तयारी अवस्थामा रहनुको साथै केहीले कक्षा सञ्चालन समेत गरेको गाउपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।
खजुरा गाउपालिकामा आईसिटी मैत्री शिक्षण सिकाइको लागि जनप्रतिनिधि, तथा नागरिक अगुवाले टोलटोलमा छलफल चलाउन आवश्यक रहेको ज्ञानोदय नमूना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले जानकारी दिनुभयो ।
खजुरा गाउपालिकाले बैकल्पिक शिक्षा कक्षा सञ्चालनको लागि प्रत्यक बिद्यालयमा ईन्टरनेटको व्यवस्था गर्नुको साथै नेटको अभाव हुने स्थानमा नेपाल टेलिकमको सियूजी सिमको प्रयोग गरीने गरी तयारी अघि बढाएको छ ।
यसैबीच ज्ञानोदय नमुना मावि खजुराले विद्यालयका ३३ जना शिक्षक शिक्षिकालाई अनलाइन कक्षा सञ्चालनको लागि सहज बनाउन जनही १–१ वटा ल्यापटप हस्तान्त्रण गरेको छ भने विद्यालयमा ५३ वटा डेक्सटप राखेर आईसिटी कक्षा सञ्चालनको लागि सहज बनाएको छ ।






