स्थानीयले ढुंगा प्रहार गर्दा १३ प्रहरी घाइते, दुई जना पक्राउ

धनगढी । धनगढीमा स्थानीयबासीको ढुंगा प्रहारबाट १३ जना प्रहरी घाइते भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयको ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरी बलका ६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ढुङ्गा प्रहारबाट मेघाफोन १ थान, पारदर्शी सिल्ड १० थान, हेल्मेट ३ थान पनि पूर्ण रुपमा क्षति भएको छ । प्रहरीमाथि ढुंगा प्रहार गर्ने २ जना व्यक्तिलाई नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ भने अरूको खोजी भइरहेको छ ।

पानी निकासबारे भएको विवाद बढेपछि मंगलबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो । जमेको पानी वडा नम्बर २ तर्फ निकास गर्दा आफ्नो क्षेत्रमा डुबानको समस्या बढ्ने भन्दै स्थानीयले उक्त पानी मोहना नदीमा निकास गर्न माग गरेका थिए ।

सोही कारण मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट वडा नम्बर २ का स्थानीयले बन्द गरेका थिए । कल्भर्ट बन्द भएपछि वडा नम्बर ३ का केही बस्ती र नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र डुबानमा परेको थियो ।

३ नम्बर वडा डुवानमा परेपछि पानी निकास गर्न वडा नम्बर २ का स्थानीयले बन्द गरेको कलभर्ट खोल्नुपर्ने माग अन्य स्थानीयको थियो । प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेपछि २ नम्बरका स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीलेले बताउनुभयो ।

उहाँका अनुसार धनगढीमा वडा नम्बर २ का बासिन्दाले आफ्नो क्षेत्रमा डुवान पर्ने भन्दै पानीको निकास मोहना नदीमा गर्न माग राख्दै आएका छन् । त्यो काम भएको छैन । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन संयुक्त सुरक्षा निकायबाट प्रहरीले ५७ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । सेतोपाटी

Previous articleइस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) पर्व मनाउँदै
Next articleरियालिटी शो होस्ट नगर्ने आदित्यको घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here