आर्के स्ट्रामा नृत्य गराउन लगिएका चार युवतीको उद्धार

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्सा र माइती नेपालको संयुक्त प्रयासमा भारतबाट चार नेपाली युवतीको उद्धार गरिएको छ ।

भारतमा आर्के स्ट्रामा नृत्य गर्ने काममा लगाइएका चार जना युवतीलाई उद्धार गरी नेपाल फर्काएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो । वीरगञ्जबाट करिब ३० किमी टाढाको भारतीय सहर छौडादानोबाट ती युवतीलाई उद्धार गरी नेपाल ल्याइएको हो ।

उद्धार गरिएका युवतीमा तीन जना झापाका र एक जना सुनसरीका छन् । जसमध्ये एक जना १६ वर्षीय र बाँकी ३ जना १९ र २० वर्ष उमेर समूहका युवती रहेका खनालले बताउनुभयो । उनीहरुलाई नेपाल ल्याएर अभिभावकको जिम्मा लगाइएको छ ।

पहिलेदेखि नै आर्केस्ट्रामा नृत्य गर्दै आएकी एक युवतीले बाँकी तीन युवतीलाई आर्थिक प्रलोभनमा पारेर भारत लगेको पाइएको प्रहरीले जनाएको छ । गत साता मात्रै उनीहरु बाराको कवही नाका हुँदै लुकिछिपी भारत प्रवेश गरेका खुलेको माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरीले जानकारी दिनुभयो ।

उनीहरुलाई दैनिक १५ सय भारु पारिश्रमिकको प्रलोभन देखाइएको थियो । छौडादानोमा अरु धेरै नेपाली युवती पनि आर्केस्ट्रामा नृत्य गर्दै आएका उद्धार गरिएका युवतीहरुले बताएका छन् ।

Previous articleकक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तनको तयारी
Next articleसवा दुई लाख नगदसहित जुवाखालबाट आठ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here