
दाङ । दाङमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरसँंग लड्नका लागि तयारी थालिएको छ ।
बिहीबार तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासस्थित रहेको सोनापुर सिमेन्ट परिसरमा अक्सिजन पलान्ट उद्योग उत्पादनका लागि तयारी गरिरहेको पलान्टको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अवलोकन गर्नुभएको छ ।
उहाँले दाङ, रुकुम, प्युठान, रोल्पा र सल्यानलाई समेत पुग्ने गरी अक्सिजन उत्पादनको तयारी भैरहेको बताउनुभयो । यसअघि कोरोना भाइरसको दोस्रो लहरका बेला जिल्लामा अक्सिजनको अभाव भएको थियो ।
अब कोरोनाको तेस्रो लहरमा जिल्लामा अक्सिजनको अभाव नहुने कुरुम्वाङले बताउनुभयो । अक्सिजन पलान्ट उद्योगबाट प्रति दिन ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने सोनापुर सिमेन्ट उद्योगका महाप्रबन्धक हरि पाठकले जानकारी दिनुभयो ।
हाल जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २००, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले ७५, दाङ अक्सिजन उद्योगले २०० गरि जम्मा ९२५ सिलिन्डर प्रती दिन उत्पादन गरिरहेका छन् ।
एक महिनापछि सिमेन्ट उद्योगले ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने भएपछि जिल्लामा एक हजार तीन सय ७५ वटा प्रति दिन अक्सिजन सिलिन्डर उत्पादन हुने छ ।






