
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै चुनौती पनि थपिएको छ । बर्दियामा बाघको सङ्ख्या बढेसँगै पछिल्लो दुई वर्षयता बाघ आक्रमणका घटना बढ्नुले बाघ र मानवबीच द्वन्द्वको चुनौती थपिएको हो । बर्दियामा आर्थिक वर्ष २०७६/०७७ मा ६ जना, २०७७/०७८ मा १२ जना र यस आर्थिक वर्षको बिहीबारसम्ममा एक जना गरी १९ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
यसैगरी नेपाल-भारत सीमा क्षेत्रमा पर्ने जङ्गलमा राजापुरका एक भारतीयको बाघको आक्रमणबाट दुई वर्षअघि ज्यान गएको थियो । यस्तै बाघकै आक्रमणबाट बाँकेमा दुई र कैलालीमा एक जनाको ज्यान गएको छ । बर्दिया निकुञ्ज आसपासका जिल्लामा गरी दुई वर्षको अवधिमा पाटे बाघको आक्रमणबाट २३ जनाको ज्यान गएको छ ।
बाघ आक्रमणका घटना भएका स्थानमा गई निकुञ्जले बाघको उद्धार गर्ने गरेको छ । गएको आर्थिक वर्षमा मात्रै ६ वटा समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा १३ वटा बाघ पाइने राष्ट्र प्रमुखहरूको भेलाले सन् २०२२ सम्ममा नेपालले बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो ।





