
नेपालगञ्ज । पत्रकारका नाममा पत्रकारितालाई बदनाम गर्नेहरुको पक्षमा वकालत नगर्ने नेपाल पत्रकार महासंघ बाँकेले स्पष्ट पारेको छ ।
पछिल्लो समय जिल्लामा पत्रकारिताको नाममा गस्ती गर्ने, बिभिन्न व्यक्तिहरुलाई दुःदिने जस्ता कार्यहरु भएको भेटिएपछि महासंघले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै त्यस्तो गर्नेहरुको पक्षमा महासंघले कुनै प्रकारको साथ सहयोग नगर्ने स्पष्ट पारेको हो ।
महासंघ बाँकेका सचिव कमल डांगीद्धारा जारी बिज्ञप्ति अनुसार केही दिनयता जिल्लामा पत्रकारितालाई बदनाम गराउने कार्यहरु भइरहेको गुनासो आएपछि पत्रकारिताको नाम लिएर त्यस्ता गलत कार्य गर्नेहरुलाई सचेत गराएको उल्लेख छ ।
पत्रकार हौं भन्दै भन्सार, सीमा नाकाहरुमा जाने, मोबाइल क्यामेरा तेर्साउने, राती बिभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ्ग गर्ने तर, समाचार नलेख्ने जस्ता कार्य गरेको भनि महासंघ बाँकेमा जनगुनासाहरु धेरै आएकाले त्यस्तो नगर्न र पत्रकार आचारसंहिताभित्र रहेर समाचार संकलन एवं प्रकाशन, प्रशारण गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ ।
पत्रकार आचारसंहिताको पालना गर्न पटक–पटक अनुरोध गर्दै आइरहेको महासंघले पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा दुई जना पक्राउ परेपछि यस्तो अपील गरेको हो ।
पक्राउ पर्नेमा एबीपी क्राईम न्यूजको सञ्चालक तथा पत्रकार बताउने आशिष मल्ल ठकुरी र सोही अनलाईनको संवाददाता राजन बैश्य रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पत्रकार हुँ भन्दै विभिन्न ब्यक्तिहरुसँग रकम बार्गेनिङ्ग गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।





