
नेपालगञ्ज । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली सम्पर्कबिहिन हुनुभएको छ । उहाँ पार्टीको समेत सम्पर्कमा नरहेको माओवादी केन्द्रले जनाएको छ ।
पार्टीको शनिबार (आज) हुने संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताउनुभयो ।
मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको आशंका गरिएको छ ।
माओवादी केन्द्रका सांसद थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने पार्टीले आशंका गरेको बताउनुभयो । जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा पर्नुभएको छ ।
दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोज्नुभएको थियो ।





