
खजुरा । बाँकेको खजुरा गाउँपालिकामा संचालन गरिएको प्रारम्भिक सिकाई पढाइ सन्दर्भ सामाग्री निमार्ण तथा प्रयोग सम्बन्धी शिक्षण तालिम र बर्दियाको ठाकुरबाबा नगरपालिकामा संचालित स्टीम एजुकेशन तालिम सकिएको छ ।
खजुरामा शनिबार सकिएको छ भने ठाकुरबाबा नगरपालिकामा संचालित शुक्रबार सकिएको हो । विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको थियो ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारी तथा बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र खजुरा गाउँपालिकाको समन्वयमा शिकाई परियोजना संचालन भएको विद्यालयका कक्षा शिक्षकहरुको तालिममा सहभागिता रहेको थियो ।
खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, गाउँपालिका शिक्षा समितिका सदस्य भद्र बहादुर केसी, स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे, कार्यक्रम संयोजक जगदिश थापाको उपस्थितिमा तालिमको समापन गरिएको थियो । समापनमा बोल्दै शिक्षा शाखा प्रमुख मल्लले शिक्षकहरुमा सिकाईको मात्रा बढेसंगै शिक्षण सिकाई प्रभावकारी बन्ने बताउनुभयो । उहाँले पाठ्यक्रममा रहेर पढाउने मात्र नभएर पाठ्यक्रममा भएका बिषयबस्तुको ज्ञानलाई सहजरुपमा प्रयोगात्मक तरिकाले प्र्रस्तुत गरेर सिकाईने बिधि प्रभावकारी सावित हुने बताउनुभयो ।
यस्तै समापनमा बोल्दै स्याक नेपालका अध्यक्ष पाण्डेले संघसंस्थाले स्थानीय स्तरमा रहेका स्थानीय तहसंग समन्वय सहकार्य गरेर कहाँ कसरी सहयोग गर्न सकिन्छ सो कार्यका लागि सदैव सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले चार दिनसम्म संचालन भएको तालिममार्फत एउटा शिक्षकको शिक्षण शैलीलाई समेत प्रभावित बनाएर प्रभावकारी शिक्षण कार्यलाई अगाडी बढाउन प्रेरित गर्ने धारणा राख्नुभयो ।
खजुरा गाउँपालिकाका चार वटा बिद्यालयका शिक्षकहरुको सहभागितामा शिक्षकले विद्यालयमा गर्ने शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा ज्ञान र सिपमा अभिवृद्घि भई विद्यालय तहमा भएको पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्घत पुर्याउन तालिम संचालन गरिएको जनाइएको छ ।
साउन १३ देखि १६ गतेसम्म खजुरामा राधा मल्लले सहजिकरण गर्नुभएको तालिमको समापनमा सिकाई परियोजनाका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्मा र सुपरभाइजर रज्जब अली वागवानको समेत उपस्थिति रहेको थियो ।





