
नेपालगञ्ज । मुस्लिम धर्मावलम्बिहरुको महान पर्व मोहर्रमको नवौं दिन आज राती ताजिया राखिँदैछ । नेपालगन्जसहित मुस्लिम बाहुल क्षेत्र तथा ग्रामीण ठाउँमा ताजिया राख्ने तयारीमा मुस्लिम समुदाय जुटेका हुन् ।
इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने मोहर्रम पर्वलाई दस दिनसम्म विभिन्न कार्यक्रमहरू गरे मनाइँदै आइएको भएपनि कोभिड–१९ महामारीका कारण यस वर्ष भने खासै उत्साहपूर्ण नरहेको केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समिति नेपालगञ्जका अध्यक्ष फिरोज अहमद हल्वाईले जानकारी दिनुभयो ।
उहाँले महामारीको जोखिम कायमै रहेकोले जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैलाई आग्रह गर्नुभयो । मोहर्रमको आठौं दिन गएराती हुसैनी जुलुस निकालिएको थियो ।
राती १२ बजे नेपालगञ्जको फुल्टेक्रा रामनगर, धम्बोजी र जोल्हनपुर्वाबाट हुसैनी जुलुस निकालिएको नेपाल मोहर्रम समिती धम्बोझीका अध्यक्ष तथा मुस्लिम अगुवा मेराज अहमद हिमालयले जानकारी दिनुभयो ।
कोरोना भाइरस महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पालना गरेर पर्व मनाउने काम भइरहेको पनि अध्यक्ष मेराज हिमालयले बताउनुभयो ।





