नेपालगन्जको एक पसललाई कारबाही

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-११ त्रिभुवन चोकस्थित सदरलाइनमा रहेको एक किराना पसललाई ग्यास लुकाएको आरोपमा कारबाही गरिएको छ ।

शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई ग्यास लुकाएर उपभोक्तालाई बिक्री नगरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङको नेतृत्वमा आइतबार गरिएको बजार अनुगमनका क्रममा उक्त पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको भेटिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार उपभोक्ताले ग्यास माग्न जाँदा पसल सञ्चालकले ‘ग्यास छैन’ भन्दै फर्काउने गरेको गुनासो प्राप्त भएपछि अनुगमन गरिएको थियो ।

हामी नियमित रूपमा बजार अनुगमन गरिरहेका छौँ । सो क्रममा उक्त पसलको गुनासोसमेत हामीसँग आएको थियो । आइतबार अनुगमन गर्दा ग्यास लुकाएको भेटियो,’ गुरुङले भन्नुभयाे । उहाँका अनुसार पसलले उपभोक्तालाई ग्यास छैन भन्दै फर्काउने गरेको र १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा भेटिएको हो ।

त्यसपछि प्रचलित व्यवस्थाअनुसार पसललाई न्यूनतम ५० हजार रुपैयाँ जरिवाना गरिएको उहाँले बताउनुभयाे । ‘उपभोक्ता आउँदा सञ्चालकले ग्यास छैन भनेर फर्काउने गरेका रहेछन् । गुनासो प्राप्त हुनेबित्तिकै अनुगमन टोलीले यहाँ पनि अनुगमन गरेको हो,’ गुरुङले भन्नुभयाे ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी गुरुङसहित प्रहरी, नेपालगन्ज उपमहानगरपालिकाका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

 

Previous articleबुटवलका डीएसपी निशान्त सम्मानित
Next articleसञ्चारकर्मी जायसवालले गरे १०९औं पटक रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here