कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राप्तीसोनारीले एक/एक लाख रुपैयाँ दिने

राप्तीसोनारी । कोरोना महामारीबाट मृत्यु भएका ब्यक्तिका परिवारलाई क्षतिपूर्ती बापत राप्तीसोनारी गाउँपालिकाले एक लाख रुपैयाँ दिने भएको छ ।

गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बाढीबाट क्षति हुन गएका घर परिवारलाई पनि २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

जसका लागि मुचुल्का, फोटोसहित वडा समितिको निर्णय सिफारिस हुनु पर्ने गाउँपालिकाले जनाएको छ । त्यस्तै बैठककले गाउँपालिकाअन्तर्गत ऐलानी जग्गाको अभिलेखिकरण गर्न परिचयपत्र वितरण र अभिलेख सम्बन्धि समितिमा वडा नम्बर ३ का अध्यक्ष गंगाराम थारुको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै राप्ती सोनारी अस्पताल बैजापुरलाई आवश्यक पर्ने जनशक्ति दरबन्दी खोली पदपुर्ति गर्ने, सर्पदंश उपचार केन्द्र शम्शेरगंजमा गाउँपालिका तर्फबाट दुईजना स्वास्थ्यकर्मी खटाइने, टेण्डर आह्वान गरी छोरीहरुलाई स्वास्थ्यको पहुँचमा पुर्याउन साइकल वितरण, झिझरी र परुवा बाहेकका अन्य खोलाको नदिजन्य पदार्थ बिक्री वितरणका लागि टेण्डर खोल्ने गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले रेडियो भुवर भवानीलाई जानकारी दिनुभयो ।

गाउँपालिकाका लागि एकजना कार्यालय सहयोगी र दुईजना करार कर्मचारी माग गर्ने, गरिबी निवारण कोष र सामाजिक विकास कोषको रकम एकिन गरी प्रत्येक वडामा एक सहकारी संस्था दर्ता गरी संचालनमा ल्याउने लगायतका विषयमा निर्णय गरिएको उहाँले बताउनु भयो ।

कोरोना संक्रमणबाट राप्ती सोनारीभित्र ज्यान गुमाउनेको तथ्यांक १४ जनाको रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले यसअघि पनि कोरोनाबाट मृत्यु भएका परिवारलाई काज किरिया खर्च बापत २० हजार रुपैयाँ दिएको थियो ।

Previous articleनेपालगन्जमा गाईजात्रा महोत्सव भव्यताका साथ सम्पन्न
Next articleपश्चिम तारा नेपालले मनायो गाईजात्रा पर्व

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here