कर्मचारी कुटपिट घट्नाप्रति ट्रेड युनियनकाे गम्भीर ध्यानाकर्षण

नेपालगन्ज । काेहलपुर नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीमाथि भएको कुटपिट घटनाप्रति निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, बाँकेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनले शनिबार एक बिज्ञप्ति जारी गर्दै असोज १ गते कार्यालयमा कामकाज गरिरहेकै अवस्थामा कोहलपुर नगरपालिका स्वास्थ्य शाखामा सि.अ.हे.व. (अधिकृत छैटौं) पदमा कार्यरत गेहराज खनाललाई सोहि शाखा प्रमुख (जनस्वास्थ्य निरीक्षक) अनिल सेन ठकुरीले कुटपिट गरेको घटना प्रति निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, बाँकेको गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।

कार्यालयमा कार्यसम्पादनका क्रममा कुनै विवाद, असहमति र अस्पष्टता भए आपसी सल्लाह, सहमति र समझदारीबाट सम्पादन गर्नुपर्ने वा त्यसरी पनि हुन नसके आफुभन्दा माथिल्लो तह वा निकायको राय सुझावबाट समस्याको समाधान गर्नुपर्ने र त्यसरी पनि समाधान हुन नसके कानुन बमोजिम गर्नुपर्ने स्पष्ट बाटो र विकल्प हुँदाहुँदै कार्यस्थलमै हातपात र कुटपिटमा उत्रिने जस्तो घृणित कार्यको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, बाँके घोर निन्दा र भर्त्सना गर्दछ, बिज्ञप्तिमा उल्लेख छ ।

यस प्रकारको असभ्य, अभद्र र उच्छृङ्खल कार्यमा संलग्न जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याउन र कारवाहीको भागीदार बनाउन निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन बाँकेले सम्बन्धित निकाय समक्ष जोडदार माग गरेकाे सचिव देवीलाल चौलागाईं बताउनुभयो ।

Previous articleसशस्त्र प्रहरीद्धारा भन्सार छली ल्याउँदै गरेको सामान बरामद
Next articleबलिउड अभिनेता सुदमाथि २० करोड आयकर छलीको आरोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here