
समीर अली बेहना
मेरा प्यारा मित्रहरु अहिले सोसल मिडियामा जल्दोबल्दो विषय बंगलादेशमा अल्पसंख्यकहरुमाथि भएको हिंसा र दमनकारिताको विरोध हो । हामी पनि गलत कुराको समर्थन गर्दैनौं, यो घटनाको हामी पनि विरोध गर्छौं । अपराधीहरुलाई पक्राउ गरि कारबाहीको माग समेत गर्छौं ।
विश्वको जुनसुकै कुनामा एउटा मानवमाथि कष्ट र पिडा आएमा सम्पुर्ण मानव जगतलाई दुखी तुल्याउँछ । हिंसालाई दीने ईस्लामले कदापि बढावा दिँदैन । पैगम्बरे ईस्लाम हजरत मोहम्मद सल्लल्लाह हु अलैही वा आलही वसल्लमले हामीलाई कुनै पनि क्षेत्रमा टुहुरो छाड्नु भएको छैन ।
हामीलाई जहाँ एउटै अल्लाहको प्राथना गर्न सिकाउनु भएको छ । गरीब असाहायको लागि बाँच्न सिकाउनु भएको छ । त्यहीँ समाजमा मिलेर कसरी बस्ने कुरा पनि सिकाउनु भएको छ । पैगम्बरे ईस्लामको जमानामा एउटा यहुदी र मुनाफिक (आफूलाई मुस्लिम भन्ने तर दीने ईस्लामको सिद्धान्त विपरीत कार्य गर्ने (अरु अर्थ पनि छन् ।)
(ब्यक्तिमा विवाद भएको थियो । यहुदीले आफ्नो खेतमा पानी हाल्न पाउनु पर्ने ठाउँमा मुनाफिकले आफू पानीको हकदार रहेको दावी गर्दै थियो । समस्यालाई समाधान गर्न यहुदी र मुनाफिक दुबै पैगम्बरे ईस्लामको श्रणमा उपस्थित भएर इन्शाफको अपील गरे ।
पैगम्बरे ईस्लाम हजरत मोहम्मद सल्लल्लाह हु अलैही वा आलही वसल्लमले उक्त पानीको पहिलो हकदार यहुदी रहेको फैसला गर्नु भयो । यहुदीले फैसला स्वीकार गर्यो र आफूलाई मुस्लिम भन्ने मुनाफिकले अस्वीकार गरेर हजरत उमर रजिअल्लाह हु त आला अन्हुसंग फैसला गराउने भनेर यहुदी सामू प्रस्ताव राख्यो ।
जबकि हजरत उमर रजिअल्लाह हु त-आला अन्हु स्वयं हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको अनुयायी हुनुहुन्छ । तैपनि दुबै जना हजरत उमर रजि अल्लाह हु त-आला अन्हुको श्रणमा पुगेर कुरा राखे र उक्त घटना बारे यहुदीले हजरते उमर रजिअल्लाह हु त-आला अन्हुलाई बतायो कि पैगम्बरे ईस्लाम हजरत मोहम्मद सल्लल्लाह हु अलैही वा आलही वसल्लमले यहुदीको हकमा फैसला गरि सक्नु भएको छ ।
त्यसपछि हजरते उमर रजिअल्लाह हु त-आला अन्हुले घरमा गएर तलवार निकालेर त्यो मुनाफिकको टाउको काट्दिनु भयो । पछि कुरानमा अल्लाह तबारक वा त-आलाले आयत नाजिल गर्दै भन्नू भयो जसले पैगम्बरे ईस्लामको कुरा मान्दैन त्यो मोमिन होइन ।
यहाँबाट स्पष्ट छ कि पैगम्बारे ईस्लामको कुरा अस्वीकार गर्ने ब्यक्ति मुस्लिम हुँदैन र यो पनि स्पष्ट छ कि दीने ईस्लाममा न्यायलाई पहिलो स्थानमा राखिएको छ । चाहे त्यो जुनसुकै धर्मको मान्ने वाला होस् उसले न्याय पाउनुपर्छ ।
त्यस्तै हजरते उमर रजिअल्लाह हु त-आला अन्हुको खिलाफत (जनसेवा अवधिमा) पनि गैरमुस्लिमहरुलाई कुनै किसिमको जबर्जस्ति दबाब हिंसाको सामना गर्नु परेन ।
हजरते उमर रजिअल्लाह हु त-आला अन्हु मात्र नभएर सम्पुर्ण खलिफाहरुको समयमा गैरमुस्लिमहरुलाई कुनै किसिम दुख दिइएन । गैरमुस्लिमहरुले केवल टेक्स (टेक्स बासोबास गरेको क्षेत्रको विकास र आफुले पाएको सेवासुबिधा बापत चुकाउने शुल्क) बुझाउनु पर्ने ब्यवस्था थियो जबकी मुस्लिमले टेक्स, जकात (वार्षिक आफ्नो सम्पत्तिको ५/२ प्रतिशत गरीब पीडितहरु बाढ्ने (फित्रा) आफ्नो आत्मको लागी सदका हकवालालाई बाड्ने) आदि बुझाउनुपर्ने ब्यवस्था थियो ।
कसैले यो पनि भन्न सक्छ कि त्यो दीने ईस्लामको सुरुवाती चरण रहेकोले यस्तो नियम कानूनको पाल्न हुनेगर्थ्यो । त्यसैले म तपाईंहरुको समक्षमा आजभन्दा करिब ४ सय वर्ष अगाडि पैगम्बरे ईस्लामको असल अनुयायीले एउटा गैरमुस्लिमसंग गरेको इन्शाफलाई जिकिर गर्दै छु ।
बादशाह औरंगजेबको नामबाट आज विश्वजगत अपरिचित छैन । भारतको दिल्ली प्रान्तबाट ईस्लामिक जनसेवा सञ्चालन गर्ने बादशाह औरंगजेब रहमतुल्लाहले ५० वर्ष भन्दा माथी कार्यभार सम्हाल्नु भएको थियो । कुनै एउटै ब्यक्तिले यति लामो समयसम्म जनसेवा गर्ने मौका पाउनु भनेको यो एउटा रिकोर्ड नै हो ।
यति लामो समयसम्म कार्यभार सम्हाल्नुको कारण थियो कि बादशाह औरंगजेबले न्याय नियाँ निशाफलाई प्रथम स्थानमा राख्थे विकास र शैक्षिक क्षेत्रमा निकै ठुलो काम गर्नु भएको थियो । गरीब असाहाय पीडित र आफ्नो क्षेत्रमा पर्ने सम्पुर्ण मानवहरुको हकाधिकार बारे सचेत हुनुहुन्थ्यो ।
उनको जनसेवा कालखण्डमा बनारसको एउटा पण्डित लालारामको छोरी सकुंतलालाई एउटा इब्राहिम नामक कर्मचारीले (अफसर, कोतवाल)ले मन पराउन थाल्यो र उसले जोर जबर्जस्ती गरेर विवाह गर्ने प्रयत्न गर्यो ।
सकुंतलाको घरमा धाकधम्की दिएर बिहे गर्ने प्रस्ताव राखेको थियो । सोही कुरालाई सकुंतलाले दिल्ली पुगेर बादशाह आलमगिर रहमतुल्लाह अलैह समक्ष राखे र बादशाह आलमगीर रहमतुल्लाह अलैहले वाचा गर्दै भन्नुभयो छोरी तिमी जाउ तिम्रो अस्मितालाई संरक्षण गर्ने जिम्मा मैले लिए तिम्ले चाहे बमोजिम हुन्छ । म छिटै बनारस आउने छु ।
सकुंतला आफ्नो घर गएर आफ्नो परिवारलाई संतोष राख्न भनिन् र आफ्नो बुवालाई बादशाह अलमगीर रहमतुल्लाहले गरेको वाचा बारे बताइन । बिहे कै दिन आलमगीर रहमतुल्लाह अलैह बनारस पुग्नु भयो र इब्राहिम कोतवालले आफ्नो जन्ती लिएर खुशी मनाइरहेको बेला उ सवार रहेको घोडाबाट तल खसालेर गालामा थप्पड लगाउनु भयो र भन्नू भयो तैंले दीने ईस्लामलाई बदनाम गर्ने काम गरिस । तैंले सजाय पाउनु पर्छ ।
त्यो कोतवालले माफी माग्न थाल्यो र उसलाई माफी नदिएर हाथीको खुट्टामा बाँधेर हाथीलाई दगुराइएको थियो, पछि उसलाई सबैको अगाडि कत्ल समेत गरिएको थियो । यहीँबाट हामीले सिक्नु पर्छ ईस्लामले न्याय नियाँ निशाफको हत्या गर्न सिकाउँदैन ।
अब जस जसले गैरमुस्लिमसंग गर्ने ब्यवहार दीने ईस्लामको सिद्धान्त विपरीत छ उसले आफूलाई मुस्लिम भन्ने कुनै अधिकार छैन । हामी मिलेर बस्नुपर्छ भन्ने हाम्रो दीनले हामीलाई सिकाउँछ । पाठक मित्रहरुले अझै सरल रुपमा बुझुन भनेर म एउटा अझै उदाहरण दिन्छु ।
पैगम्बरे ईस्लाम हजरत मोहम्मद सल्लल्लाह हु अलैही वा आलहि वसल्लमले भन्नू भयो आदमको सन्तान आपसमा भाई भाई यस नाताले पनि हामी मानव जाती मिलेर बस्नुपर्ने प्रेणा लिनुपर्छ किन भने एउटा भाईले आर्को भाइलाई दुख दिने, पिडा दिने, नराम्रो होस् भनेर चाहन राख्दैन । ईस्लाम गैरमुस्लिमहरु प्रति यस्तै ब्यवहार देखेर भारतको जलालपुरबाट एउटा कविले भनेका थिए ।
मैले यति लेख्नुको कारण यति मात्र हो कि समाजबाट हिंसा र विभेदको अन्त्य होस् । एउटा त्यस्तो समाजको निर्माण होस् जहाँ शान्ति भाइचारा र प्रेम नै प्रेम होस् । अहिले सोसल मिडिया मै केहि त्यस्ता असामाजिक तत्वहरु पनि छन् जुन फिलिस्तीनमा मुस्लिमहरुमाथि दमन हुँदा, भारतको दिल्लीमा हिंसा हुँदा, मेरठमा हिँसा हुँदा, गुजरातमा हिंसा हुँदा चाइना मुस्लिम समुदायमाथि दमनकारीता हुँदा खुशी प्रकट गर्ने र हर्षित हुने गर्छन् ।
मलाई थाहा छैन उनीहरु कुन विचारधाराका हुन् । कहाँबाट प्रेरित छन् तर यस्ता ब्यक्तिहरुलाई आतंकवादी बिचारधाराको भएको विश्व समुदायले सम्बोधन गर्ने गर्छ । म उनीहरुको हकमा यो लेख लेखेको पनि छैन । एउटा मानव माथी अत्याचार हुँदा हिंसा हुँदा खुशी व्यक्त गर्नु र चुस्की लिनु मानव जातिको नैतिकता विपरीत हो ।
यस्ता असामाजिक तत्वहरुलाई पहिचान गरि कार्वाही गर्नु पर्छ र यिनिहरुबाट दूरी बनाउनु पर्छ । रहयो कुरा मानवताको भने विश्वको जुनसुकै क्षेत्रमा पनि जो शान्तिपुर्ण बस्न मन पराउँछ उसलाई हानी नोक्सानी पुर्याउनु हुंदैन ।
त्यो जुन सुकै समुदायको होस जुन सुकै धर्मको मान्ने वाला होस उसलाई समुदाय बराबरीको हैसियतमा बस्ने वातावरण मिलाउनु समाजको कर्तव्य हो र राज्यको दायित्व हो । बंगलादेश मात्र नभएर विश्वकै जुनसुकै देश होस् सबैलाई सम्मानपुर्वक बाँच्न पाउने हक छ ।
त्यसैले अल्पसंख्यकमाथि भएको हिंसालाई छानबिन गरि उनीहरुमाथी कार्वाही हुनुपर्छ भने मेरो चाहना छ र नेपाल सरकार, मानव अधिकार , संयुक्त राष्ट्र संगलाई उनीहरुको न्यायको लागि आवज बुलन्द गर्न म अपील समेत गर्छु ।





