
साहिल शेष, नेपालगन्ज । मन्त्री भएपछि पहिलो पटक चाडपर्व मनाउन गृह जिल्ला बाँके आएका नेपाली काँग्रेस क्षेत्र नं.२ (ख) सांसद तथा लुम्बिनी प्रदेश वन वातावरण तथा भु-संरक्षण मन्त्री सुरेन्द्र हमाल चाडपर्व संग-संगै भेटघाट, स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा ब्यस्त रहदै आउनुभएको छ ।
यही क्रममा राष्ट्रिय लोकतन्त्र समाजवाद भन्ने मुल नाराका साथ नेपाली काँग्रेस इकाई कार्य समिती जानकी गाउँपालिका -५, बेलहरी बाँकेले मंगलबार नवनियुक्त वन वातावरण तथा भु-संरक्षण मन्त्री हमाललाई स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हमालले भन्नुभयो-वृद्धभत्ताको लागि बैंक धाउनु पर्दैन अबदेखि स्थानीय तहले आफ्नै वडाबाट वृद्धभत्ता सजिलै उपलब्ध गराउने छ ।
त्यस्तै बाँकेमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने र वनमा सढे गलेका रुख तथा काठको चाडै ब्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
बाँके जिल्लाले पहिलो पटक वन वातावरण तथा भु-संरक्षण मन्त्रालय पाएको छ । यो समग्र जिल्लाको लागि नयाँ अवसर हो । यो अवसरलाई मैले पुर्ण रूपमा इमानदारीताका साथ जिम्मेवारी निभाउने प्रतिबद्धता समेत मन्त्री हमालले व्यक्त गर्नुभयाे ।
कार्यक्रम पश्चात् मन्त्री हमालले स्वास्थ्य चौकी बेलहरीको स्थलगत अनुगमन समेत गर्नुभयाे । मन्त्री हमाल तिहारको अवसर पारेर गृह जिल्ला बाँके आउनुभएकाे हाे ।
जिल्ला बसाईका क्रममा उहाँले आफ्नो क्षेत्रका मतदाता, पार्टीका नेता कार्यकर्ता, खेलकुद क्षेत्रका विज्ञ व्यक्ति लगायतसङ्ग भेटघाटलाई तिब्रता दिनुभएको छ ।
जानकी गाउँपालिका विकसित बनाउन नितिगत र कानुनी रूपमा रही गर्न सक्ने जुनसुकै काम पनि गर्ने प्रतिबद्धता रहेकाे जानकी गाउँपालिकाका पूर्व प्रमुख छब्बन खाँले गर्नुभयाे ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पुर्व मन्त्री गजेन्द्र हमाल, लक्ष्मी नारायण शाह, बादसाह कुर्मी, जुल्फिकार मनिहार , भोला सिद्दिकी, कदीर अन्सारी, नक्की खाँ लगायत नेता बोल्नुभएकाे थियाे । कार्यक्रमको संचालन नेपाली काँग्रेसका नेता टिकाराम यादवले गर्नुभयाे ।





