
नेपालगन्ज । नेपाली काँग्रेसका नवनिर्वाचित सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीको १४ औं महाधिवेशनले पाटीलाई नयाँ उर्जा दिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले महाधिवेशनले एकताको सन्देश दिएको बताउनुभयो ।
राठौरले नेता कार्यकर्ताहरुलाई अब एक ढिक्का भएर लाग्न आह्वान पनि गर्नुभयो । पार्टी सुदृढ ढंगले अघि बढ्ने उहाँको विश्वास छ । सह–महामन्त्री राठौरले बाँकेमा हुन लागेको निर्वाचनमा आफुले सर्वसम्मतको प्रयास गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो बाँके काँग्रेसको अधिवेशन सर्वसम्मतबाटै चुनिनेछ । त्यो सम्भव नभए लोकतान्त्रिक मान्यताअनुरुप निर्वाचन गरिनेछ । पत्रकारको जिज्ञासामा उहाँले आगामी चुनावमा एक्लै वा गठबन्धनमा लड्ने भन्ने बारेमा समय अनुसार निर्णय हुने बताउनुभयो ।
‘सभापति ज्युले प्रधानमन्त्रीका हैसियतले अवश्य पनि सबैलाई मिलाएर जानुहुन्छ, एक्लै वा मिलेर पनि जान सक्ने हुन सक्छ, त्यो कुरा समयले बताउँछ ।’ राठौरले राष्ट्रिय सहमति कायम गरेर मात्र एमसिसी पारित हुने बताउनुभयो । अहिले नै एमसिसी पारित नहुने उहाँले स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा काँग्रेस सहमहामन्त्रीसंगै केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी पनि महाधिवेशन पश्चात पहिलो पटक गृह जिल्ला बाँके आउनुभएको हो ।
युनियन बाँकेको पत्रकार भेटघाटमा लुम्बिनी प्रदेश संसाद मोहम्मद याकुब अन्सारी, काँग्रेस बाँकेका उपसभापति फुलाराम थारु, सचिव कपील शर्मा, क्षेत्रीय सभापति पोषण केसी, नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डारी, युनियनका पूर्व केन्द्रिय सदस्य युवराज श्रेष्ठ, युनियन बाँकेका पूर्व अध्यक्ष मेघराज ओली, नेपालगन्ज नगरसभापति प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु चौधरी, पूर्व सांसदद्वय बादशाह कुर्मी तथा आशा विक लगायतको उपस्थिती रहेको थियो ।
सो क्रममा युनियन बाँकेका अध्यक्ष ओलीले सहमहामन्त्री राठौर र केन्द्रिय सदस्य बाल्मिकीलाई खादा ओढाएर मायाको चिनो स्वरुप पश्चिम नेपालको शक्तिपिठ बागेश्वरी मन्दिर अंकित तस्विर प्रदान गर्नुभएको थियो ।
पत्रकार भेटघाटपछि नेपालगन्ज विमान स्थलमा भेला भएका बाँके र बर्दियाका काँग्रेस नेता तथा कार्यकर्ताले सहमहामन्त्री राठौर र केन्द्रिय सदस्य बाल्मिकीको भब्य स्वागत गरि ¥याली निकालिएको युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिनुभयो ।





