
नेपालगन्ज । पुस १२ गतेदेखि २६ गतेसम्म नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय पदर्शनी हुने भएको छ ।
महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा महिलाहरुद्वारा उत्पादित सामाग्रीहरुको प्रदर्शनी गरिने भएको हो ।
महिला उद्यमी संघ बाँकेले बिहीबार नेपालगन्जमा रहेको कोसेली घरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदर्शनीको बारेमा जानकारी गराएको छ ।
कार्यक्रममा बोल्दै महिला उद्यमी संघ लुम्बिनी प्रदेशका संयोजक सरस्वती शर्माले नेपालगन्जमा रहेको सोनाकरी पाटी प्यालेसमा कार्यक्रम आयोजना हुने बताउनुभयाे ।
शर्माले प्रदर्शनी कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका महिलाहरुको सहभागिता रहेने बताउनुभयाे । प्रदर्शनीमा महिलाहरुले उत्पादन गरेका सामाग्रीका लागि ५० स्टल राखिने तयारी छ ।
‘महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण र उनीहरुले उत्पादन गरेको सामानहरु बिक्री गराउने उद्देश्यका साथ प्रदर्शनीको अयोजना गरिएको हो,’ शर्माले भन्नुभयाे ।
त्यस्तै कार्यक्रमा महिला उद्यमी संघ, बाँकेकी अध्यक्ष निरुपमा रस्तोगीले प्रदर्शनीमा उपस्थिति जनाएका सबै महिला उद्यमीका लागि निःशुल्क स्टल उपलब्ध गराइने बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘हामीले प्रदर्शनीमा आउने महिलाको स्टल खर्च, खानबस्न र आउने जाने भाडाको व्यवस्था गरेका छौं ।’
प्रदर्शनी कार्यक्रमका लागि चार लाख बजेट आएको महिला उद्यमी संघ नेपाल, बाँकेकी महासचिव सुनिता पाण्डेले जानकारी दिनुभयो ।





