
नेपालगन्ज । लुम्बिनी नेपाली काँग्रेसका सभापति अमरसिंह पुनले लुम्बिनी काँग्रेसले पार्टीका सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताउनुभएको छ । नवनिर्वाचित सभापति पुनले आगामी योजनामा नेपाली काँग्रेसका सबै साथीहरुको रेकर्ड राखेर उनीहरुको कामका आधारमा सबैको मूल्यांकन गरिने बताउनुभएको हो ।
शुक्रबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै पुनले लुम्बिनी काँग्रेसको आगामी योजनाका विषयमा बताउनुभयो । उहाँले प्रदेशको चारवर्षे योजनाका विषयमा पनि छलफल भई रहेको बताउनुभयो ।
‘लुम्बिनी काँग्रेसका महामन्त्री बिक्रम खनालको संयोजकत्वमा प्रदेशको चार वर्षे योजना बनिरहेको छ । केहीदिनपछि ड्राफ्ट बनिसकेपछि जिल्ला–जिल्लासम्म त्यो ड्राफ्ट पठाएर पुनः करेक्सन गरि पास गर्ने योजनामा हामी छौं’ पुनले भन्नुभयो ।
पुनले देशव्यापीरुपमा चलिरहेको अधिवेशनलाई मध्येनजर गर्दै नेपाली काँग्रेसले लोकतान्त्रिक पद्धतिबाट अभिवेशन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पाटी भनेको अरुलाई सिकाउने पाटी हो । हामी अरुभन्दा फरक ढंगले हिँड्नु पर्दछ । हामीले ४ करोड जनतालाई केन्द्रविन्दू बनाएर अबको बाटो के हो भनेर लाग्नु पर्छ । हामीले के ग¥यो, के गर्न सक्यो र के गर्न सक्छौं भनेर सोच्नु पर्दछ ।’
हालै सम्पन्न काँग्रेस १४ औं महाधिवेशनका बारेमा बोल्दै पुनले नेपाली काँग्रेसको अधिवेशन लोकतान्त्रिक भएका कारण अधिवेशन जसरी सम्पन्न भए पनि जितेर आउने साथीहरुले नेपाली काँग्रेसको हित सोँचेर सबैलाई समान व्यवहार देखाउनु पर्ने तर्क ब्यक्त गर्नुभयो । ‘लोकतन्त्रभित्र लोकतान्त्रिक पद्दती मान्नुपर्छ । जसमा प्रतिस्पर्धा पनि हुन्छ । सर्वसम्मत पनि हुन्छ । अबको अधिवेशन सकिएपछि हामी एक ढिक्का भएर लुम्बिनी काँग्रेसलाई अगाडि र मजबुद बनाएर लग्नुपर्छ,’ पुनले जोड दिनुभयो ।
पुनले आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै भने आज म जे छु नेपाली काँग्रेसका पूर्व सभापति एबम पूर्व प्रधानमन्त्री शुसील कोइरालाको सादगिय जीवनशैली र राजनीतिबाट प्रभावित भएको ब्यक्ति हुँ, उहाँले भन्नुभयो स्व.सुशील कोइरालाको सम्झानामा रोल्पामा सुशील स्मृति भवन बनाएको छु ।
करिब दुई करोडको लागतमा सुशील कोइरालाको शालिकसहितको भवन बनाएको बताउँदै उक्त भवन निर्माणका लागि बाँकेबाट पनि ठूलो सहयोग रहेको बताउनुभयो ।कार्यक्रममा प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा काँगे्रस गठबन्धनलाई निर्वाचित गराउन प्रेस युनियनको सक्दो भूमिका रहने बताउनुभयो ।
उहाँले कार्यक्रममा प्रेस युनियनले शुरु गरेको पत्रकार कल्याण कोषका बारेमा चर्चा गर्दै उक्त कल्याण कोषमा सहयोग गर्न अपील पनि गर्नुभयो । उहाँले समग्र पत्रकारहरुलाई समस्या परेको बेला सहयोग प्रदान गर्ने हेतुले कोष प्रभावकारि हुने भएकाले यसको निरन्तरतामा युनियन कटिबद्ध रहेको बताउनुभयो ।
पत्रकार भेटघाटका क्रममा युनियन बाँके अध्यक्ष ओलीले काँग्रेस लुम्बिनी प्रदेश सभापति पुन र राष्ट्रिय सभा निर्वाचनका उम्मेदार बाँकेका काँग्रेस पूर्व सभापति युवराज शर्मालाई खादा ओढाएर शुभकामाना समेत दिनुभयो । सो क्रममा युनियन बाँकेले पश्चिम नेपालको शक्तिपीठ बागेश्वरी मन्दिर अंकित मायाको चिनो काँग्रेस लुम्बिनी प्रदेश सभापति पुनलाई प्रदान गर्नुभएको थियो ।
नेपाल प्रेस युनियन बाँकेको आयोजनामा भएको पत्रकार भेटघाटमा नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोइराला, नेपाल प्रेस युनियनका उपमहासचिव प्रेम केसी, बाँके क्षेत्र नम्बर १का क्षेत्रीय सभापति पोषण केसी, काँग्रेस लुम्बिनी प्रदेश सदस्यहरु टेकनारायण भुषाल, दिक्षा कोइराला, परमेश्वरी पाठक, कृष्णा सापकोटा, अञ्जना पाण्डे, काँग्रेस जिल्ला सदस्यद्वय नारायण गौडेल र चिन्तामणी धिताल तथा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ख का अध्यक्ष बलराम शर्मा लगायतको उपस्थिती रहेको युनियन बाँकेका सचिव विजय मल्लले जानकारी दिनुभयो ।





