धरौटीमा छुटे महिलालाई पैताला चटाउने तीन पुरूष

दिपकजंग शाही
सुर्खेत । कुलपूजाको नाममा महिलालाई पैताला चटाउने तीन जना पुरूष (धामी) धरौटी बुझाएर छुटेका छन् ।

सुर्खेत जिल्ला अदालतको फैसला अनुसार उनीहरू धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

निमित्त प्रवक्ता प्रहरी निरीक्षक कनक शाहीका अनुसार उनीहरू जनही एक लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।

प्रहरीले पुस ६ गते कुलपूजाका नाममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवालीलाई पक्राउ गरेको थियो ।

प्रहरी प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरी प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थियो । आफ्नो अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिलमार्फत् पुस १६ गते अदालतलमा उनीहरूलाई बुझाएको थियो ।

उनीहरूले महिलामाथि अमानवीय व्यवहार गरेको भिडिओ सार्वजनिक भएको थियो ।

भिडिओ सार्वजनिक भएपछि प्रहरीले आफ्नो प्रतिवेदन तयार पारी मानव अधिकारकर्मी र महिला अधिकारकर्मीको सहयोगमा मुद्दा दर्ता गराएको थियो ।

पुस ४ गते सुर्खेतको लेकवेशी नगरपालिका–४ मा भएको कुलपूजामा उनीहरूले यस्तो व्यवहार गरेका थिए । यो घटनामा पीडित भनिएकै महिलाकै माइतीघरमा भएको कुलपूजामा शरीरमा देउता चढेको निहुँँमा तीन जना पुरूषहरूले उनीमाथि अमानवीय व्यवहार गरेका हुन् ।

तीन जनामध्ये दुई जनाले महिलामाथि शारीरिक रूपमा झम्टिनुका साथै आफ्नो पैताला पालैपालो चटाएका थिए ।

सार्वजनिक भिडिओका आधारमा उनीहरूमाथि मुद्दा चलाइए पनि पीडित भनिएकी महिलाले भने जाहेरी नै दिन मानेकी थिइनन् । उनले प्रहरीसँगको सोधपुछका क्रममा पनि आफूमाथि दुव्यर्वहार नभएको बयान दिएकी थिइन् ।

प्रहरीसँगको बयानमा ती पुरूषहरूले पनि आफ्नो शरीरमा देउता चढेपछि महिलामाथि भिडिओमा देखिएजस्तो व्यवहार गरेको स्वीकार गरेका थिए ।

Previous articleलुम्बिनी काँग्रेसले सबैलाई समेट्छ : सभापति पुन
Next articleयुवा क्लबमा उमेर पुगेकालाई बिदाई, नवआगन्तुको स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here