
नेपालगञ्ज । स्वर्गीय सूर्यनाथ गौतम (मुटु) पत्रकारिता पुरष्कार अक्षय कोष स्थापना गरिएको छ । सूर्यनाथकी धर्मपत्नी सुशीला गौतमले सोमबार नेपालगञ्जमा कोष स्थापित गर्नुभएको हो ।
सुशीला र सुर्यनाथ नेपालगन्जका बरिष्ठ पत्रकार नीरज गौतमका माता पिता हुनुहुन्छ । नेपाल पत्रकार महासंघले आफ्नै कार्यालय भवनमा आयोजना गरेको कार्यक्रममा सुशीलाले एक लाख रुपैयाँको कोष स्थापना गर्नुभएको महासंघका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो ।
सूर्यनाथको मुटु रोगकै कारण मृत्यु भएपछि आफुले श्रीमानको स्मृतिमा कोष स्थापना गरिएको सुशीलाले बताउनुभयो । उक्त कोषको संरक्षकमा छोरा नीरज गौतमलाई राखिएको छ । अक्षय कोष रकम मुद्वतीमा राखिने छ । एक वर्षमा जति ब्याज आउँछ त्यो रकम पुरस्कारको रुपमा प्रदान गरिने छ ।
बिस्तारै पछि पुरस्कार राशी बढाउँदै लैजानेमा आफु सकारात्मक रहेको संरक्षक गौतमले बताउनुभयो । कोष स्थापना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले कोषको स्थापना हुनु एकदमै असल कार्य भएको बताउनुभयो ।
महासंघ बाँकेको पुर्व अध्यक्ष समेत रहनुभएका चौलागाईले आफु अध्यक्ष हुँदाका समयमा स्थापना भएका र हालसम्म स्थापना कोषको रकमबाट कोष बनाउने व्यक्तिहरुको जन्मदिन, पुण्यतिथी लगायतका अवसरकै बेला पुरस्कार बितरण गर्नुपर्ने बताउनुभयो ।
साथै उहाँले महासंघले हालसम्मको पुरस्कारहरुको खोजी गरेर व्यस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । यस्तै प्रेस चौतारी बाँकेका नवनिर्वाचित अध्यक्ष दुर्गा रोकायले पत्रकारहरुलाई सक्रिय बनाउन कोषले उर्जा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले स्थापना भएको कोषको बिशेष दिनमा नै पत्रकारलाई पुरस्कृत गर्ने कार्य भएमा अझ राम्रो हुने धारणा राख्नुभयो ।
यस्तै नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष समिरमान श्रेष्ठले पुरस्कार स्थापना भएपनि बितरण कार्यले सक्रियता पाउन नसकेको धारणा राख्नुभयो । उहाँले कोष स्थापना गर्नु आफैमा उत्कृष्ठ कार्य भएको भन्दै स्थापना गर्ने परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस सेन्टरका केन्द्रीय सदस्य सिराज खान लगायतको उपस्थिति रहेको थियो ।





