
काठमाडौं । कोरोनाविरूद्ध खोप लगाउन एक स्वयंमसेविकाले वृद्धालाई बोकेर खोप केन्द्रसम्म लगेकी छन् ।
गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नम्बर ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविका लीला थापाले गाउँकै वृद्धा देवकली टन्डनलाई बोकेर खोप केन्द्र लग्नुभएको हो ।
देवकली ७९ वर्षकी हुनुभयो । उहाँ हिँडेर खोप केन्द्र जान सक्नुहुन्न । उहाँलाई घरबाटै स्वास्थ्य स्वयंमसेविका थापाले बोकेर खोप लगाउन स्वास्थ्यचौकी पुर्याएको छ ।
गाउँमा यातायातको सुविधा नहुँदा बोकेरै लैजानुपरेको हो । सरकारले चैत मसान्तभित्र सबैलाई पूर्ण खोप दिने लक्ष्य राखेको बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ २१ भित्र मौज्दात खोप र खोप लगाइसकेकाहरूको विवरण अनिवार्य केन्द्रमा पठाउन स्थानीय तहहरूलाई आग्रहसमेत गरेको छ ।





