
नेपालगञ्ज । बाँकेमा गत ६ महिनामा ४४ जना कुष्ठरोगका विरामी थपिएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेको अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि पुस मसान्तसम्म जिल्लामा ४४ जना नयाँ विरामी थपिएका हुन् ।
गत आर्थिक वर्ष २०७७/०७८ मा १ सय २८ जना नयाँ विरामी थपिएका थिए । यसवर्ष थपिएका नयाँ विरामीमध्ये सबैभन्दा बढी नेपालगञ्जका १३, कोहलपुरका ११ जना रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत एव कुष्ठरोग फोकल पर्सन मानव नेपालीका अनुसार जानकी गाँउपालिकामा ६, नरैनापुर र बैजनाथ गाँउपालिकामा ५/५, खजुरामा ३ र डुडुवामा १ जना नयाँ विरामी थपिएका हुन् ।
गत ६ महिनामा राप्तीसोनारी गाँउपालिकामा शून्य रहेको छ । यस्तै आइएनएफद्धारा सन्चालित बाँकेमा रहेको साइनिङ अस्पतालमा गत ६ महिनामा ७४ जना कुष्ठरोगका विरामी फेला परेका छन् ।
बाँके, बर्दिया कर्णाली र सुदुरपश्चिमका जिल्लाबाट समेत विरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख मंगल बहादुर थारुले जानकारी दिनुभयो ।
भारतबाट समेत विरामीहरु उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको साउनदेखि पौषसम्म ८ हजार ४ सय ३२ जनाले सेवा लिएकोमा ७४ जनामा कुष्ठरोग भेटिएको हो ।
नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोग मुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ । तर विरामीहरु खुलेर उपचारमा नआउदा लक्ष्य पुरा गर्न चुनौती देखिएको छ ।





