
काठमाण्डाैं । ६ करोड २५ लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जना सञ्चालक समितिका अध्यक्षलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।
पक्राउ पर्ने काठमाडौं महानगरपालिका ३१ पुरानो बानेश्वरको भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्षहरू रहेका छन् ।
काठमाडौं ३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र काठमाडौं १६ बस्ने शिव पाण्डे पक्राउ परेका हुन् । उनीहरूलाई ब्युरोले गत बुधबार नै पक्राउ गरेको महतोले बताउनुभयो ।
सहकारीका निक्षेपकर्ता सदस्यहरूले संस्थामा बचत तथा आवधिक खाता खोलेर जम्मा गरेको रकम हिनामिना गरेको आरोप उनीहरूमाथि छ ।
सहकारीबाट उठेको रकम सहकारी संस्थाको खातामा नराखी उनीहरूले आफूखुसी आफ्नै परिवार सदस्य तथा आफन्तहरूको नाममा राखेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
प्रारम्भिक अनुसन्धानबाट १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रकम हिनामिना गरेको प्रहरी उपरीक्षक महतोले बताउनुभयो ।
निक्षेपकर्ताहरूले भुक्तानी फिर्ता माग्न जाँदा सहकारी संस्थामा ताला लगाएर उनीहरू फरार भएका थिए ।
ब्युरोमा जाहेरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट अन्य बचतकर्ताहरू पनि ठगिएको हुनसक्ने भन्दै ब्युरोको सम्पर्कमा आउन अनुरोध गरेको छ ।





