
गुलरिया । बर्दियाको बिभिन्न पालिकाहरुमा अभिभावकले आफ्ना बालबालिकाहरुको सिकाई र अध्ययन कार्य सहज बनाउन व्यवस्थापन गरेको सिकाई कुनाको अनुगमन गरिएको छ ।
बिभिन्न पालिकाका बिभिन्न क्षेत्रहरुमा रहेका अभिभावकहरुले बालबालिकाहरुले बिद्यालय बाहेक घरमै सहज अध्ययन कार्य संचालन गर्न सक्ने वावतावरणका लागि निर्माण गरेका सिकाई कुनाको बुधबार अनुगमन गरिएको हो ।
प्लान इन्टरनेशन नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा बर्दियाका बिभिन्न पालिकाको बिभिन्न बिद्यालयमा संचालित सिकाई परियोजना अन्तर्गत अभिभावकले बालबालिकाको सिकाई दिगो र प्रभावकारी बनाउन घरमै सिकाई कुना निर्माण गरेका छन् ।
सिकाई कुनामा बालबालिकालाई अध्ययन कार्यमा सहज बनाउने शैक्षिक सामाग्री निर्माण गरि राखिएको छ । शैक्षिक सामाग्री निर्माणका लागि अभिभावकलाई तालिम प्रदान गरिएको थियो ।
परियोजना संचालित बिद्यालयमा कक्षा सवलीकरण र घरमा अभिभावकको संलग्नतासहितको सिकाई कुना निर्माण गरिएको छ । बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका बिभिन्न गाउँका अभिभावकको घरमा बुधबार अनुगमन गरिएको हो ।
राजापुर नगरपालिका वडा नं ५ बदालपुर, ठाकुरबाबा नगरपालिका वडा नं ४ सैनवार र गेरुवा गाउँपालिका वडा नं ५ सुख्खडका क्षेत्रमध्ये २ वटा बिद्यालय र ७ वटा घरमा सिकाई कुनाको अनुगमन गरिएको जनाइएको छ ।
प्लान नेपालका शिक्षा बिज्ञ बेद प्रसाद डाँगी, स्याक नेपालका पदाधिकारी तथा कर्मचारीहरुले गरेको अनुगमनबाट प्राप्त उपलब्धका बारेमा सम्बन्धित पालिकाका शिक्षा शाखा प्रमुखहरुसंग समेत छलफल गरिएको छ ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिका शिक्षा शाखा प्रमुखहरुसंग गरिएको समन्वयात्मक छलफलमा प्राप्त भएका राम्रा अभ्यासलाई दिर्घकालिन बनाउन र गुणस्तरीय शिक्षा कायम गर्नका लागि गर्न सकिने बिषयमा छलफल गरिएको परियोजना संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
पालिकाहरुले निर्माण गरेको स्थानीय पाठ्यक्रम, स्थानीय शिक्षा नीति र स्थानीय शिक्षा योजनाका बारेमा छलफल गरिएको थियो । सो क्रममा पालिकाले गुणस्तरीय शिक्षा बनाउनका लागि आवश्यक नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न योजना बनाएर अघि बढेको शिक्षा शाखाले जनाएको छ ।
यसैबीच बर्दियाको ठाकुरबाबा नगरपालिकामा दश वर्षे शिक्षा योजना निर्माणका लागि मस्यौदा लेखन कार्य भइरहेको छ । प्लानको साझेदारीमा बाँके बर्दियाका ७ वटा पालिकाका २५ वटा बिद्यालयमा सिकाई परियोजना संचालनमा छ ।





