
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतलाई स्वास्थ्यकर्मीहरुले स्वागत गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले बुधबार प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले नेपालगन्ज उपमहानगरपालिका मातहतका स्वास्थ्यकर्मीहरुले प्रशंसनीय कार्य गरेको बताउनुभयो । बस्नेतले उपमहानगरपालिका भित्रका सबै स्वास्थ्यकर्मीहरुलाई एक आपसमा हातेमालो गर्दै कार्य गर्न सुझाब समेत दिनुभयो ।
स्वागत कार्यक्रममा बोल्दै जनस्वास्थ्य निरीक्षक टेक बहादुर केसीले स्वास्थ्यकर्मीहरुको पिर मर्का नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बुझ्नुपर्ने बताउनुभयो । कार्यालय प्रमुखको सहयोग स्वास्थ्यकर्मीहरुको लागि अपरिहार्य रहेको केसीले बताउनुभयो ।
साथै मन्त्रालयले अवधि नपुग्दै बारम्बार प्रमुख प्रशासकीय अधिकृतहरुको ४/५ महिना नपुग्दै सरुवा गर्नाले स्वास्थ्य क्षेत्रका धेरै काम प्रभावित हुने केसीले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत कार्यक्रममा उपमहानगरका (जनस्वास्थ्य निरीक्षक) एवं योजना शाखा प्रमुख जागेश्वर बस्नेत, उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख ब्रजभुषण झा लगायत स्वास्थ्यकर्मीहरु र अन्य आयुर्वेद शाखाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन उपमहानगरपालिका स्वास्थ्यकर्मी तेज वलीले गर्नुभएको थियो ।





