
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको निर्वाचन नजिक आउँदै गर्दा करिव तीन महिनाअघि जिल्लाको पदाधिकारी र कार्यसमितिका सम्भावित अनुहारबारे चर्चा चल्यो ।
केन्द्रमा पार्टीको नेतृत्व गरेको कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले जिल्लामा कस्ता उम्मेदवार मैदानमा ल्याउँला भन्ने चासो आम कार्यकर्तामा रहेको थियो ।
चुनावको मुखमा एक जना यस्ता ‘आशलाग्दा’ युवा नेता चर्चामा आए, जसलाई अधिकांस कांग्रेसका प्रतिनिधीले रुचाए । बाँके कांग्रेसलाई चलायमान गराउन आम कार्यकर्ताले उहाँको आवश्यकता महसुस पनि गरे ।
अधिकांस कार्यकर्ताको रोजाईमा परेका युवा नेता हुनुहुन्छ, मेघराज ओली । अधिकांस कार्यकर्ताले उहाँलाई १४ औं अधिवेशनमा कांग्रेस बाँकेको उपसभापति वा सचिवमा आएको देख्न चाहेको कुरा पार्टी कार्यालय, चोक, चौराहा र चिया पसलमा मात्र होइन, सामाजिक सञ्जालमा पनि प्रष्टै देखिन्छ ।
जिल्लाको उपसभापति वा सचिव मध्ये एक पदमा चुनाव लड्नुपर्ने धेरैजसोले उहाँलाई सुझाव दिए र चुनाव जिताउने अभियानमा साथ दिने प्रतिवद्धता पनि जनाएका थिए । चुनावी संघारमा युवा नेता ओलीको उम्मेदवारीबारे यतिसम्म चर्चा भयो कि उहाँले नेता, कार्यकर्ता र शुभेच्छुक धेरैको मन जित्न सफल हुनुभयो ।
कार्यकर्ता र शुभेच्छुकको सुझाव अनुसार नै उहाँ जिल्ला सचिवमा लड्ने निचोडमा पुग्नुभएको थियो । उहाँलाई देउवा प्यानलबाट उम्मेदवार बनाउने प्रयास भयो ।
पछिल्लो पटक मंगलबार बिहानसम्म उक्त प्यानलबाट ओली सचिवको उम्मेदवार बन्ने निश्चित भएको खबर आएपनि सोही दिन बेलुका एक्कासी उहाँको नाम लिष्टबाट हटाइएको सूचनाले आम कांग्रेस कार्यकर्ता र शुभचिन्तक निराश भए ।
देउवा प्यानलले बुधबार घोषणा गरेको पदाधिकारी उम्मेदवारमा युवा नेता ओली समेटिनुभएन । निर्वाचनका लागि उम्मेदवारी छनोट गर्दा देउवा प्यानलका पुराना नेता ओलीलाई नेताहरुले चिन्नै नसकेको र उहाँको योगदानलाई बिर्सेको आम कार्यकर्ता बताउँछन् ।
‘पार्टीभित्र जो इमान्दार र सक्षम छ, उसलाई भित्रबाटै सिध्याउने प्रवृत्तीको पुनरावृत्ति मेघराज ओलीमाथी भयो,’ एक कार्यकर्ताले भने ‘निर्णय प्रक्रियामा रहेका नेताले न्याय नगर्दा पार्टीलाई चाहिने सक्षम ब्यक्ती अवसरबाट बञ्चित भए ।’ राजनीतिमा भविष्य बोकेका आशलाग्दा युवा नेता ओलीलाई बञ्चित गर्दा उनी जति निराश भए, त्यो भन्दा बढी कांग्रेस कार्यकर्ता र उनका शुभेच्छुक बढी दुःखी छन् ।
झण्डै ३० वर्षदेखि देउवा समुहमा
प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाको विचार समुहमा झण्डै ३० वर्षदेखि उनी आवद्ध हुनुहुन्छ । युवा नेता ओली २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई हुँदै देउवाको विचार समुहबाट कांग्रेसको राजनीतिमा लाग्नुभएको हो ।
राष्ट्रिय वा स्थानीय राजनीतिका विषयमा होस् या कांग्रेसले अगाडी सारेका कुनैपनि एजेण्डाका विषयमा विपक्षी पार्टीविरुद्ध सामाजिक सञ्जालमार्फत प्रस्तुत हुने र टिप्पणी गर्ने बौद्धिक स्तरका नेता हुनुहुन्छ, ओली ।
कोहलपुरस्थित त्रिभुवन माध्यामिक बिद्यालयबाट नेपाल बिद्यार्थी संघको राजनीतिक यात्रा सुरु गर्दै कांग्रेसको सक्रिय राजनीतिमा आउनुभएका उहाँले जीवनको ‘उर्जावान’ समय राजनीतिमै ब्यथित गर्नुभयो । उहाँ सुर्यदय माविमा नेविसंघ क्याम्पस इकाई अध्यक्ष हुनुभयो ।
नेविसंघ क्षेत्र नम्बर ३ को पहिलो अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएका ओलीले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकायमा अध्यन गर्दा आफ्नो संकायमा नेविसंघ कक्षा इकाई संयोजक र नेविसंघ बाँकेको जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
१४ बर्षको कलिलो उम्मेरबाट बहुदलिय ब्यवस्थाको पक्षमा वकालत गर्दै देशमा लोकतन्त्र ल्याउनुपर्छ भन्दै २०४६ को संयुक्त जनआन्दोलनमा प्रजातन्त्रको पक्षमा पर्चा, पम्पलेट बितरण गर्ने क्रममा प्रहरी चौकी नौवस्ताको हिरासतमा यातना पाउनुभएको थियो ।
कांग्रेसको पाँच पटक केन्द्रिय महाधिवेशन प्रतिनिधी भइसक्नुभएका उहाँ कांग्रेस बाँकेका पुर्बसभापति गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ र स्वर्गीय डा.अरुण कोइरालाको कार्यसमितिमा सदस्य तथा पार्टी प्रवक्ताको समेत भुमिका निभाउने अवसर प्राप्त गर्नुभयो ।
करिव दुई दशक लामो पत्रकारिता (सम्पादक) जीवनको अनुभव लिएका ओली नेपाल प्रेस युनियन बाँकेको पुर्वअध्यक्ष हुनुहुन्छ ।
जिल्ला सदस्य तथा प्रवक्ता हुँदा उहाँले जिल्ला कार्यसमितिमा निभाएको भुमिकालाई पुर्वसभापति हमाल र श्रेष्ठ अहिले पनि सम्झिनु हुन्छ ।
‘मेघराज ओली पार्टीको लागि चाहिने नेता हो, तर अहिले उनीमाथी ठुलो अन्याय भएको छ,’ पुर्वसभापति हमालले भन्नुभयो ‘पार्टीभित्र बढेको ब्याप्त चाकरीवादको परिणाम हो यो, मेघराजले कसैको चाकरी गरेनन् होला, त्यसैले उनलाई बञ्चित गरियो ।’
आफु सभापति हुँदा ओलीले विवाद रहित रुपले पार्टीको काम गरेको पुर्वसभापति हमाल स्मरण गर्नुहुन्छ । संस्थापनबाट पदाधिकारीको उम्मेदवार भएका ब्यक्तीको बिरोध आफुले नगरेको तर, प्रक्रियाप्रति असन्तुष्टी रहेको बताउनुभयो ।
अर्का पुर्वसभापति कृष्णमान श्रेष्ठले पदाधिकारीमा समेटिनुपर्ने नेता ओली रहेको बताउनुभयो । ‘मेघराज ओली पार्टीको बुद्धिजिवी नेता हो, पार्टीलाई चाहिने असल मान्छे हो, जिल्लाको पदाधिकारीमा उसलाई ल्याउनुपथ्र्यो, तर खै किन ल्याइएन्, यसमा हामीलाई पनि नमजा लागिरहेको छ,’ उहाँले भन्नुभयो ।
मेघराज छुट्दा पुर्वसभापति एवम् राष्ट्रिय सभाका सदस्य युवराज शर्मा पनि दुःखी हुनु हुन्छ । ‘पदाधिकारीको उम्मेदवार बनाउँदा हामी पुर्वसभापतिलाई राखेनन्, पार्टीमा लामो समय काम गरेका ब्यक्ती छुट्नु हुदैन भनेर मैले किशोर जीलाई सम्झाएको पनि थिए, तरपनि मेघराज जस्तो मान्छे कसरी छुट्नु भयो, मलाई दुःख लागेको छ,’ शर्माले भन्नुभयो ।
पदाधिकारीमै पार्टीमा काम गरेका पुराना युवा नेता भने समेटिएको उहाँ बताउनुहुन्छ । ‘मेघराज जीलाई जसरी पनि स्थान दिनुपथ्र्यो । पदाधिकारीमा आउन इच्छा राखेको ब्यक्ती, धेरैको सम्पर्कमा भएको ब्यक्ती भएको हुँदा पार्टीलाई चलाउन सक्ने क्षमता मेघराज जी मा छ,’ उहाँले थप्नुयो ।
कांग्रेस बनाउने एउटा सपना
कार्यकर्ताका नजरमा नेता ओली नयाँ जोश ,नयाँ उत्साह, नयाँ सोच, नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ उर्जा ,नयाँ योजना सहित हरेक दृस्टिकोणबाट कांग्रेस बाँकेलाई नविन ढंगले निरन्तर अगाडी बढाउने स्पष्ट मार्गचित्र बोक्न सक्ने सम्भावना बोकेका एक निष्ठावान संघर्षशिल युवा हुनुहुन्छ ।
समकालीन नेपाली राजनीतिमा बैचारिकता आदर्श, सिद्धान्त निष्ठा, इमानदारीता, समर्पण हराइरहेको वर्तमान सन्दर्भबाट बढ्दो राजनीति प्रतिको निराशालाई भरोसामा बदल्न सकारात्मक सोचका साथ अनवरत रूपमा लागेको एक सक्षम, सकृय र सिर्जनशिल युवा पनि हुनुहुन्छ उहाँ ।
आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बेला लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरेतापनि प्रतिस्पर्धाबाट निस्कने परिणामलाई स्वीकार्न नसक्ने पार्टीभित्रको मनरोगलाई निस्तेज पार्दै त्यसबाट उब्जिएको चरम गुटबन्दीबाट मुक्त बाँके कांग्रेस पार्टीमा अनुशासन, विधिको बोलवाला र संख्यात्मक भन्दा पार्टीमा गुणात्मक कार्यकर्ता उत्पादन गर्न प्रशिक्षण अभियान चलाउनु पर्छ भन्ने नयाँ सोच उहाँसँग छ ।
राजनीतिलाई पेशा होईन, निस्वार्थ समाज सेवाका रूपमा लिई जनता अनि देशको सेवा गर्नका निम्ति आफ्नो राजनीतिलाई चलायमान गराउन आय–आर्जनका लागि निजी उद्यमलाई प्राथमिकता दिदै पार्टीको आन्तरिक जीवनमा नेतृत्वका कारण आउने हरेक खाले आलोचनालाई न्यूनिकरण गर्ने, आमकार्यकर्ता अनि देश विकासको लागि सामाजिक न्याय सहितको सुशासन र समुन्नतिका लागि अनवरत लाग्ने संकल्प बोकेको जुझारु नेताका रुपमा आम कार्यकर्ताले नेता ओलीलाई चिन्छन् ।





