
नेपालगञ्ज । नेपालगञ्जकी एक बालिकाको भारतको अल्मोडा शहरबाट उद्धार गरिएको छ । १० वर्षदेखि भारतको अल्मोडमा रहेकी किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका, यहाँका बाल अधिकारकर्मी र संस्थाको समन्वय सहकार्यमा उद्धार गरिएको हो ।
नेपालगञज उपमहानगरपालिका वडा नं २ मा किशोरीको घर रहेको र उनी ६ वर्षको हुँदा हराएकी थिइन । उनकै मामाले किशोरीको लगेर गएका थिए । यो कुरा परिवारले केही समयपछि मात्रै जानकारी पाएको थियो ।
आर्थिक अवस्थाले कमजोर परिवारले आफ्नो छोरीकोे उद्धार गरिदिन बिभिन्न ठाउँमा अनुरोध गरेकाे थियो । तर भारतमा रहेको उनकै मामाले आफ्नो छोरी दाबी गरेका कारण उद्धार गर्न कठिन भएको थियो ।
मामाले आफ्नो सन्तान भएको भन्दै फर्जि जन्मदर्ता पेश गरेका थिए । लामो समयको प्रयासपछि नेपालगञ्ज वडा नं २ का वडा अध्यक्ष सुनिल सिंह हमाल, बाल अधिकारकर्मी सलमान सल्मानी, ऋतिक शाही, शक्ति समूह नेपालगञ्ज प्रमुख निर्मला पौडेलको प्रयासमा किशोरीको उद्धर गरिएको हो ।
“जब हामीले छोरीका बारेमा जानकारी पाएर दावी गर्यौं, मामाले फर्जि जन्मदार्ता पेश गरेका कारण ल्याउन सकिएन,” आमाले भन्नुभयो, “छोरीलाई ल्याउन धेरे प्रयास गरे, भारतीय अदालतमा मुद्दा पर्यो, त्यसपछि समस्या भयो ।” त्यसपश्चात भारतीय अदालतले डिएनए परीक्षणबाट पत्ता लगाउन निर्देशन दिएको थियो ।
किशोरीको डिएनए आमासंग मेल खाएपछि अल्मोडास्थित राजकिय बालगृह किशोरी बखमा रहेकी छात्राको उद्धार गर्न नेपालबाट २०७८ फागुन ११ गते गएको ७ जनाको टोलीले फागुन १३ गते उद्धार गरेर आमालाई बुझाएको उद्धार टोलीमा सहभागि नेपालगञ्ज उपमहानगरपालिका महिला बिकास अधिकृत पबित्रा पुरीले जानकारी दिनुभयो ।
उद्धार गरिएकी किशोरीलाई आईबार नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणा, उपमेयर उमा थापामगर, वडा नं २ का वडाअध्यक्ष हमाल, महिला तथा बालबाकालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख उपसचिव शोभा शाह र पत्रकाहरुको उपस्थितिमा औपचारिक रुपमा घट्ना सार्वजनिक गरिएको हो ।
भारतको सैजहापुर जिल्ला बाल कल्याण परिषदका अध्यक्ष मुकेश परिहारले शुरुवाती चरणमा यी बालिकाको उद्धारका लागि नेपालमा समन्वय र सहकार्य गर्नुभएको थियो र जिल्ला प्रोवेशन अधिकारी अभिलाषा तिवारीले समेत सहयोग गर्नुभएको थियो ।





