
नेपालगञ्ज । बाँकेको खजुरा क्षेत्रमा संचालित वयस्क मनोरञ्जन क्षेत्र तथा होटेलहरुको सरोकारवालाले अनुगमन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतसहितको टोलीले शुक्रबार खजुरा क्षेत्रमा रहेका होटेल तथा रेष्टुरेण्टको स्थलगत अनुगमन गरेको हो ।
मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको पालिकास्तरीय समितिको आयोजना तथा माईती नेपालद्धारा संचालित हाम्रो सम्मान परियोजनाको प्राबिधिक सहयोगमा गरिएको अनुगमनमार्फत होटेलहरुमा राखिएका श्रमिकहरुको अवस्था, उनीहरुको व्यवस्थापन एव व्यवस्थाका सम्बन्धमा बुझिएको छ ।
अनुगमनले होटेलमा काम गर्ने श्रमिकसंग गरिने व्यवहार जस्ता कुराहरुमा समेत बिशेष जोड दिएको थियो । खजुराले मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा कार्यरत श्रमिकहरुको हकहित र मर्यादित श्रम सम्बन्धी न्युनतम मापदण्ड तथा अनुगमन निर्देशिका २०७८ निर्माण गरेर पास समेत गरिसकेको छ ।
सोही निर्देशिकामा व्यवस्था भए अनसार शुक्रबार सरोकारवालाले संयुक्त अनुगमन गरेको अनुगमनमा सहभागि महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुशिला न्यौपानेले जानकारी दिनुभयो ।
अनुगमनमा खजुरा गाउँपालिका उपप्रमुख एकमाया बिक, प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, योजना अधिकृत दिल बहादुर पौडेल, वडा नं ३ की वडासदस्य देउमाया थापा, माइती नेपालका नेपालगञ्ज संयोजक केशव कोईराला र इलाका प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा होटेलहरुमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक अनुसार नै श्रमिकलाई पारिश्रमिक दिइएको, स्वास्थ्य उपचार, बस्न, खाना जस्ता व्यवस्था गरिएको भेटिएको छ भने कमी रहेका कुराहरुमा सुधार गर्नु सुझाव दिइएको छ ।





