
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ मा स्थानीयको सक्रियतामा सिद्विविनायक गणेश मन्दिर निर्माण थालिएको छ ।
टोलमा मन्दिर निर्माणको आवश्यकता देखिएपछि टोलबासी मिलेर मन्दिर निर्माण कार्यलाई अघि बढाएका हुन ।
नेपालगञ्ज ४ स्थित स्वास्थ्य केन्द्र नजिकै निर्माण हुन लागेको मन्दिर निर्माणका लागि सहयोगी मनहरुले सहयोग गरिरहेका छन् । यो क्रममा सोमबार सेवा नेपालका अध्यक्ष लालुमाया शाहीले नगद तथा सामाग्री सहयोग गर्नुभएको छ ।
स्वास्थ्यकर्मी समेत रहनुभएकी सेवा नेपालका अध्यक्ष शाही, सस्थाका अन्य पदाधिकारीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार के सी, सदस्यद्धय विरबहादुर डाँगी र तारा थपलियालाई सहयोग स्वरुप नगद २० हजार र ३० हजार बराबरको सामाग्री प्रदान गर्नुभएको छ ।
नेपालगञ्ज ४ का स्थानीय एव नेपालगञ्ज उपमहानगरपालिकाका योजना शाखा प्रमुख जागेश्वर बस्नेतको पहलमा मन्दिर निर्माणका लागि सहयोग प्रदान गरिएको समितिले जनाएको छ ।
मन्दिर निर्माणका लागि नेपालगञ्ज वडा नं ४ पनि एक लाख रुपैया सहयोग गरेको छ । वडाले आर्थिक वर्ष २०७८/०८९ को बजेटबाट सहयोग गरेको हो । करिब ४ धुर जग्गा क्षेत्रफलमा निर्माण हुन लागेको मन्दिर निर्माणमा करिब दश लाख रुपैयाको लागत अनुमान गरिएको छ ।
मन्दिर निर्माणका लागि स्थानीयले समेत रकम संकलन गरेको र बिभिन्न व्यक्तिहरुले समेत सहयोग प्रदान गरिरहेका छन् ।





