
नेपालगञ्ज । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्जमा महिला सशक्तिकरणका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
महिला माथि हुने सबै प्रकारका हिंसा बिरुद्ध जनचेतना जगाउने र महिला सशक्तिकरणका लागि बिबिध क्रियाकलाप सञ्चालन गर्ने उद्धेश्यले स्थापित दिदि बहिनी समाज, नेपालगञ्जको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमकी प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो भने कार्यक्रममा राष्ट्रिय गान गाउनुका साथै ज्ञात, अज्ञात सहिदहरु श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरले महिला सशक्तीकरणका लागि महिला, पुरुषको समान सहभागिता हुनुपर्ने बताउनुभयो ।
महिलाहरुको अर्थपूर्ण सहभागिताका साथै नेतृत्व तहमा महिलाको सहभागिता भएमा मात्र महिलाहरुको सशक्तीकरण हुने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाकी सामाजिक बिकास महाशाखाकी प्रमुख महिला बिकास अधिकृत शोभा शाहले महिलाहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन जरुरी रहेको उल्लेख गर्दै महिला हक, हितका लागि बनेका ऐन, कानुनहरु अक्षरशः पालना हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले महिला सशक्तीकरण सबैको साझा बिषय बन्नु पर्ने बताउनुभयो ।
संस्थाकी सहसचिव मुना बिष्टले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष दिला शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव लुना बुढाथोकी, जिल्ला युवा क्लब सञ्जाल बाँकेका महासचिव हेमराज भट्ट लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा तपेन्द्र मलाती, हिरा पाण्डे नुर, शिबा शाह लगायतले बिभिन्न रचनाहरु बाचन गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै संस्थाकी अध्यक्ष रमा देबि शाहले महिलाहरुको हक, हितका लागि क्रियाशिल रहने उद्धेश्यले दिदि बहिनी समाजको स्थापना गरेको बताउनुभयो ।
संस्थाले पिछडिएका, पछाडी पारिएका व्यक्तिहरुका लागि बिभिन्न किसिमका कार्यक्रम, अभियानहरु सञ्चालन गर्ने बताउनुभयो । उहाँले समाजमा संघर्ष गर्दै अघि बढेमा हरेक व्यक्ति सफल हुने बताउँदै आफ्नो संघर्षको कथा समेत सुनाउनुभएको थियो ।





