
नेपालगञ्ज । युवाहरुको लागि बुधबारदेखि नेपालगञ्जमा उद्यम बिकास तालिम संचालन भएको छ ।
उद्यम बिकासतर्फ प्रेरित गरि आर्थिक आर्जनका लागि सक्रिय बनाउन युवाहरुका लागि उद्यम बिकास तालिम संचालन गरिएको हो ।
तालिमलाई नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले नेपालगञ्जका युवाहरुको बिकासका लागि संस्थाले राम्रो काम गरिरहेको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले संचालन गरेको तालिममा नेपालगञ्जका बिभिन्न वडाका युवाहरुको सहभागिता रहेको छ ।
पावर परियोजना अन्तर्गत आयोजना गरिएको तालिममा वडा नं ५ का वडा अध्यक्ष कैफुलवरा जोलाह, सेफ द चिल्ड्रेनकी यस परियोजना संयोजक फुल कुमारी चौधरी, मंचका अध्यक्ष चम्फ सिंह थापा, परियोजना संयोजक राम श्रेष्ठ, सिनियर अफिसर बृजेश ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
परियोजनाले नेपालगञ्जमा शैक्षिक बिकासका लागि आर्थिक अवस्था कम्जोर बिपन्न परिवारका बिद्यार्थीहरुलाई छात्रबृति सहयोग, उद्यम बिकास जस्ता गतिबिधि संचालन गर्दै आएको छ ।
नेपालगञ्जमा असमान्ता तथा भेदभावमा परेका किशोर किशोरी तथा युवाहरुको सर्वाङ्गिण बिकास गर्ने परियोजनाको लक्ष्य रहेको छ ।
परियोजनामार्फत बाल गरिबीतर्फ (जिवीकोपार्जन तथा शिक्षा) ८९ प्रतिशत, यौन तथा प्रजनन स्वास्थ्यतर्फ ४ प्रतिशित र सरसफाईतर्फ ७ प्रतिशत कार्यक्रम संचालन गरिएको जनाएको छ ।
यस कार्यक्रमहरुमार्फत अति गरिव तथा बिपन्न परिवारका किशोर किशोरी (महिला ५० प्रतिशत अनिवार्य रहने गरी) १३ देखि १५ वर्ष र १६ देखि २४ वर्ष उमेर समूहलाई सहयोग पुर्याइनेछ ।
परियोजना अन्तर्गत नेपालगञ्जको चार वटा बिद्यालय कार्य क्षेत्र रहेका छन् । नेपालगञ्जको मंगल प्रसाद माबि, सरस्वती माबि, धम्बोझी माबि र महाराजा माबि रहेको मंचकी अफिसर पुजा बर्माले बताउनुभयो ।





