
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं १ आइसोलेशन सेन्टर परिसरमा निर्माण गरिएको लैंङ्गिक मैत्री दुई तले शौचालय भवन हस्तान्तरण गरिएको छ ।
अष्ट्रेलियन एड, केयर नेपाल र भेरी वातावरणीय बिशिष्टता समूह (बिग्रुप) को संयुक्त साझेदारीमा कोभिड १९ आपतकालिन प्रतिकार्य र पुर्नलाभ परियोजना अन्तर्गत सेन्टर परिसरमा निर्माण सम्पन्न भएपछि लैंङ्गिक मैत्री शौचालय एक कार्यक्रमकाबीच स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।
वडा नं १ का वडा अध्यक्ष सुमन मल्ललाई हस्तान्तरण गरिएको थियो । बिग्रुपका अध्यक्ष टेक बहादुर मल्लले वडा अध्यक्षलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडलको समेत उपस्थिति रहेको थियो ।
३ लाख ९० हजार १७३ रुपैया लागतमा आइसोलेशन सेन्टरमा बस्ने व्यक्तिलाई लक्षित गरेर उक्त दुई तले शौचालय भवन निर्माण गरिएको हो । पहिलो तलामा बाथरुमसहित शौचालयको सुबिधा र दोस्रो तलामा महिला पुरुषका लागि छुट्टा छुट्टै प्यान सिटसहितको शौचालय रहेको छ ।
यसका साथै यही परियोजनाको सहयोगमा खजुरा गाउँपालिका वडा नं ७ स्थित खजुरा आइसोलेशन सेन्टरमा रहेको शौचालयको मर्मत गरिएको छ । ६९ हजार ९८६ रुपैया लागतमा बाथरुम लगायत शौचालयको मर्मत गरिएको हो ।
यस परियोजना अन्तर्गत खजुराको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर समन्वय सहकार्य गरिरहेको जनाइएको छ । परियोजना लक्षित स्वास्थ्यकर्मीलाई दक्ष बनाउने गतिबिधिहरु संचालन रहेको संस्थाले जनाएको छ ।





