
दाङ । दाङ प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१५ का २८ वर्षीय विक्रम चौधरी, घोराही १७ का २५ वर्षीय सुनिल विक र घोराही–१४ का २१ वर्षीय सुशील एरी रहेका छन् ।
उनीहरूको साथबाट १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
उनीहरूलाई बुधबार बेलुका ६ बजेतिर जिल्ला अदालतनजिकै रहेको पार्वती रेष्टुरेण्ट नास्ता पसलबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले रेष्टुरेण्टको क्याबिनमा शंकास्पद अवस्थामा बसिरहेका विक्रम चौधरीको साथबाट उक्त परिमाणमा ब्राउन सुगर बरामद भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिनुभयो ।
विक्रमले लगाएको पाइन्टको गोजीबाट १६ पुरिया ब्राउन सुगर बरामद भएको र आवश्यक कानुनी कारबाहीको प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।





