
बाँके । डुडुवा गाउँपालिका वार्ड नं-२ उचुवा बाबा कुटीस्थित जिर्ण रामजानकी मन्दिरको पुननिर्माण तथा मर्मत सम्भारको कार्य शुरु भएकाे छ ।
करिब एक सय ५० वर्ष पुरानो ऐतिहासिक मन्दिरको भौतिक संरचनालाई मर्मत नगरिएपछि जिर्ण बनेकाे थियाे ।
गाउँपालिकाभित्रको ऐतिहासिक मन्दिरलाई धार्मिक तथा पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्देश्यले सो मन्दिरको पुननिर्माण शुरु गरिएको हो ।
बुधबार मध्यान्ह शुभमुर्हुतमा मन्दिर भवनको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले शिलान्यास गर्नुभयो । 
उहाँले मन्दिरको शिलान्यास गर्दै गाउँपालिकाभित्र थुप्रै धार्मिक मठ मन्दिर, मस्जिदहरु रहेकाले केही ऐतिहासिक संरचनाहरुलाई पुननिर्माण तथा मर्मत सम्भार गर्न शुरु गरिएको बताउनुभयो ।
रामजानकी मन्दिरमा अष्टधातुबाट निर्मित राम, सिता, लक्ष्मण, गणेश, हनुमान, शालीग्रामको ऐतिहासिक मुर्ति छ ।
मन्दिरमा भजन किर्तन कोठा, परिक्रमा, गर्भगिरी, स्टोर कोठाको पुननिर्माण शुरु गरिएको हाे ।
बाउण्ड्रीसहित मन्दिर निमार्णका लागि करिब एक करोड लाग्ने अनुमान गरिएको छ । अहिले पहिलो चरणमा १५ लाखबाट निमार्ण थालिएको गाउँपालिकाका प्राविधिक शाखाका मदनेश्वर झाले बताउनुभयो ।
करिब ५ कठ्ठा बढी जग्गामा रहेको मन्दिरको नाममा डुडुवा-६ मा १४ विगाह पक्का खेतीयोग्य जमिन समेत रहेको मन्दिरका पुजारी भग्गन महाराजले बताउनुभयो ।
मन्दिरमा दशै, रामनवमी, कृष्णा जन्मअष्टमी लगायत अवसरमा भजन किर्तन, भण्डारा र मेला लाग्ने गर्दछ । 





