
बाँके । नेपालगञ्ज क्वारेन्टिनमा बुधबार ११५ जनाको स्वाब संकलन गरिएको छ ।
बाँकेमा कोरोनाको संक्रमण बढ्दै गएपछि अहिले सबैतिर दैनिक रुपमा स्वाब संकलनको कार्य भइरहेको छ ।
जोखिम पहिचान गर्न नेपालगञ्ज क्वारेन्टिनमा रहेका ६० जना, कन्ट्याक्ट ट्रेसिङमा परेका र समुदायका गरी ११५ जनाको स्वाब संकलन गरिएको क्वारेन्टिन व्यवस्थापक तेज बहादुर वलीले जानकारी दिनुभयो ।
पछिल्लो समय नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसार नै स्वाब संकलन गरिएको व्यवस्थापक वलीले बताउनुभयो ।
स्वाब संकलनका लागि नेपालगञ्ज उपमहानरपालिकामा भिटिएम किटको अभाव भएपछि स्वास्थ्य कार्यालय बाँकेले आवश्यक किट उपलब्ध गराएको थियो ।
क्वारेन्टिनमा स्वाब संकलनकै क्रममा भिटिएमको अभाव भएपछि बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ नै किट लिएर क्याम्पस पुग्नुभएको थियो । दुई हप्ताअघिसम्म खाली नै हुन लागेको अवस्थामा पुगेको क्वारेन्टिन बाहिरबाट आउनेलाई कडाई गर्न थालिएपछि पुनः क्वारेन्टिनमा बस्नेहरु बढेका छन् ।





