
नेपालगज । कोभिड–१९ खोप अभियानलाई थप प्रभावकारी बनाउन रेडक्रसले स्वयंसेवक परिचालन गर्ने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको साझेदारीमा नरैनापुर र जानकी गाउँपालिकामा कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम संचालन भएको छ ।
उक्त कार्यक्रम अन्र्तगत बुधवार नेपालगंजमा सरोकारवाला बीच परिचयात्मक तथा समन्वयात्मक कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ बिरुद्घको खोप समतामुलक रुपमा सबैको पहुँचमा हुने गरी गुणस्तरीय, सुरक्षित र सर्वसुलभ रुपमा प्रदान गर्न सहयोग गर्ने र कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक र मानसिक स्वास्थ्य समस्यालाई कम गर्न नेपाल रेडक्रसका स्वयंसेवक परिचालन गर्ने रहेको छ ।
सरोकारवालाका प्रतिनिधिहरुले कोभिड–१९ विरुद्ध खोप लगाउन छुटेको र लगाउन नमान्ने समुदायका व्यक्तिहरुलाई खोपको महत्व, प्रभावकारीता, फाइदा आदिको बारेमा समुदायका अगुवा र लाभाविन्तहरुको घर घरमा पुगी स्पष्ट जानकारी दिएमा खोप लगाउनेको संख्यामा बृद्धि हुने बताइएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जानकी र नरैनापुर गाउँपालिका प्रतिनिधि, जिल्ला कोभिड व्यवस्थापन समिति फोकल पर्सन, कोभिड खोप फोकल पर्सन, नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेरेसो लुम्बिनी प्रदेशका कोषाध्यक्ष राजकुमार वर्मा, नेरेसो जानकी र गंगापुर उपशाखा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी र कार्यक्रमको गतिविधिको बारेमा नेरेसो बाँके शाखाका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले प्रस्तुत गर्नु भएको थियो ।





