राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

रासस
बैतडी । पालिका चुनावमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गर्न नपाउने भएका छन् ।

चुनाव लक्षित आचारसंहिता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी गाडीको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

सरकारी गाडी प्रयोग गरेको पाइएकामा यथाशीघ्र र यथास्थितिमै गाडी नियन्त्रणमा लिइ आवश्यक कारबाही हुने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन गरेकोे आग्रहको पनि अटेरी भएको पाइएको छ ।

यही वैशाख ३० गते हुने पालिका चुनावलाई लिएर गएको चैतसम्म इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको थियो । त्यस अवधिमा एक जनाले पनि हतियार नबुझाएको कार्यालयका सूचना अधिकारी भारतीले बताउनुभयो ।

जिल्लामा बारबोर, एकनाले र दुईनाले बन्दुकसहित झन्डै एक हजार इजाजत प्राप्त हातहतियार रहेकामा तीमध्ये दुई सय ५१ हातहतियार द्वन्द्वकालमै प्रशासनमा जम्मा गरिएका थिए ।

चुनाव विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन भनिएको उहाँको भनाइ थियो । ‘हातहतियार बुझाउन अटेरी गरेका छन्’, सूचना अधिकारी भारतीले भन्नुभयोे, ‘हातहतियार नबुझाउनेलाई के गर्ने भन्नेबारे गृह मन्त्रालयको आदेश पर्खिराखेका छौँ, त्यहीअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।’

तोकिएको समयमा हातहतियार नबुझाएकाले खानतलासी गरेर कारबाही गरिने जनाइएको छ । हातहतियार जम्मा नहुँदा यसले चुनावको शान्ति, सुरक्षामा असर पार्ने आशङ्का गरिएको छ ।

सूचना निकालेर बुझाउन आग्रह गरेकामा नबुझाउनेलाई कानुनअनुसार कारबाही हुने प्रहरी नायब उपरीक्षक रमेश पालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हातहतियार बुझाउन आग्रह गरिसेकका छौँ, नबुझाउनेले कानुनी सजाय भोग्नुपर्छ ।’

Previous articleतराईमा तीन दिनसम्म तातो हावा चल्ने सम्भावना
Next articleकिसान हितका लागि अगाडी बढ्दै : मेयरका उम्मेदवार कमरुद्दिन राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here