
नेपालगञ्ज । कोरोना बिरुद्धको खोप प्रदान गरिएको केन्द्रहरुको व्यवस्थापनमा स्वयंसेवकले सहयोग पुर्याएका छन् ।
सरकारले कोरोना बिरुद्धको खोप लगाउन घरदैलो र अभियानहरु संचालन गरेपछि खोप केन्द्रहरुमा पहिलो मात्रा, दोस्रो मात्रा र तेस्रो बुस्टर मात्रा लगाउन पुगिरहेका छन् ।
खोप लगाउने स्थानमा खोप लगाउन सहज बनाउनका लागि समाजिक बिकास मंचले स्वयंसेवक खटाएको छ ।
नेपालगञ्जमा संचालित जोखिम संचार तथा सामुदायिक संलग्नता परियोजनाले खोप केन्द्र व्यवस्थित गर्ने कार्यमा सक्रिय भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्य र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा मंचले संचालन गरेको परियोजनामार्फत कर्मचारी राखेर खोप केन्द्रलाई व्यवस्थापनमा सहयोग पुर्याएको छ ।
नेपालगञ्ज वडा नं ११ स्थित स्वास्थ्य केन्द्रमा स्वयसेवकको सहयोग पुर्याउने क्रममा ९७ जनाले खोप लगाएका छन् । ५८ जना महिला र ३९ जना पुरुषले खोप लगाएको परियोजनाका सिनियर फिल्ड अधिकृत सजराम यादवले बताउनुभयो ।
नेपालगञ्जमा संचालित यस परियोजनाले कोभिड १९ बिरुद्ध सचेतना, भ्याक्सिनको प्रभावकारिता र भ्याक्सिन लगाउन छुटेकालाई भ्याक्सिनेशनका लागि प्रेरित गर्दै आएको छ ।
यसका लागि युवाहरु, स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिको उपस्थितिमा घरदैलो, भेटघाट, स्टीकर टाँस, पर्चा पम्प्लेट बितरण, माईकिङ्ग अभियान र सडक नाटक जस्ता गतिबिधि संचालन गरिएको छ ।





