
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा यसअघि भएको सहमति विपरीत गठबन्धन दलबाट परेको उम्मेदवारी तत्काल फिर्ता लिने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले भागबण्डामा परेका दलको मात्रै उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो ।
गठबन्धनको सहमति विपरीत स्वतन्त्र रूपमा दर्ता भएका उम्मेदवारी पनि तत्काल फिर्ता लिन पहल गर्ने निर्णय बैठकले गरेको छ ।
पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने र यसलाई अटेर गरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने सहमति भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले शुक्रबार अपराह्न ५ सम्मको समय दिएको छ ।






