विद्यार्थी भर्ना अभियान : बारबर्दिया नगरपालिकाको १२ बुँदे अपील

नेपालगञ्ज । बर्दियाको बारबर्दिया नगरपालिकाले विद्यार्थी भर्ना अभियान २०७९ सञ्चालनका लागि १२ बुँदे अपील गरेको छ ।

बारबर्दिया नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले ‘सबै बालबालिकालाई विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ नारासहित भर्ना अपील सार्वजनिक गरेको हो ।

कोही नछुटुन भन्ने मर्मलाई आत्मसात गर्दै शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी रुपमा सफल पार्न नगरबासीमा हार्दिक अपील गरेको पालिकाले जनाएको छ ।

बारबर्दियाले सार्वजनिक गरेको १२ बुँदे अपील मा भर्ना पालिकाभित्रका प्रधानाध्यापकको बैठकले सबै विद्यालयको साझा कार्यकण निर्माण गर्ने योजना बनाएको शाखा प्रमुख टिकानाथ गोसाईंले बताउनुभयो ।

विद्यालयमा वि.व्य.स. र शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थीलगायत शिक्षाका सरोकारवालाहरु बीच भर्ना अभियानका बारेका छलफल र अन्तरक्रिया गरी सम्बन्धित विद्यालयले नै आफ्नो विद्यालयका लागि कार्य योजना निर्माण गरी जिम्मेवारी बाँडफाँटका साथ भर्ना अभियानलाई कार्यान्वयन गर्नेछ ।

विद्यालयको सेवा क्षेत्रभित्र पर्ने हरेक टोलमा विद्यालयले बरघरहरुसँगको समन्वयमा अभिभावकहरुको टोल भेला सञ्चालन गर्ने पालिकाले जनाएको छ ।

टोल भेलामा विद्यार्थी भर्ना गर्नका लागि अभिभावकहरुलाई अनुरोध गर्नुका साथै विद्यालय सुधारका विषयमा अन्तरक्रिया समेत सञ्चालन गर्ने र अभिभावकहरुबाट प्राप्त सुझावलाई विद्यालय शिक्षक र वि.व्य.स.को संयुक्त बैठकमा समेत छलफल गर्नेछ ।भर्ना अभियानको लागि टोल समिति गठन र अभिभावक परिचालन गरिनेछ । हरेक टोलमा अभिभावकहरुको समिति गठन गरी टोलमा भर्ना हुन बाँकी रहेका बालबालिकाहरुको विवरण तोकिएको फाराममा भरी नजिकको विद्यालयमा उपलब्ध गराउने छन् ।

सोही अनुसार वि।व्य।स। पदाधिकारी र शिक्षकले विद्यालय भर्ना गर्न बाँकी रहेका घरमा गई बालबालिकालाई विद्यालयमा भर्ना नगर्नुका कारण र समस्याको समाधान समेत पहिचान गरी बालबालिकालाई विद्यालयमा भर्ना गरी नियमित विद्यालय पठाउनका लागि अभिभावकसँग छलफल गर्नेछ ।

विद्यालयमा स्वतस्फूर्त रुपमा भर्ना हुन नआएका बालबालिकालाई खोजी गरी विद्यालयमा भर्ना गर्नका लागि विद्यालयमा अध्ययनरत विद्यार्थीमार्फत ‘म ल्याउँछु मेरो साथीलाई मेरो विद्यालयमा’ अभियान सञ्चालन हुनेछ ।

त्यसरी आफ्नो साथीलाई विद्यालयमा ल्याएर भर्ना हुन प्रेरित गर्ने विद्यार्थीलाई विभिन्न अवसर पारी विद्यालयको सक्रियतामा पुरष्कृत र प्रोत्साहित गर्ने पालिकाको भनाई छ ।

विद्यालयमा भर्ना हुन आउने बालबालिकाहरुलाई विद्यालयले विभिन्न (फूलमाला तथा टिका लगायर,स्टेसनरी, पुस्तक, छात्रवृत्ति दिएर) कार्यक्रम सञ्चालन गरी स्वागत गरिने छ । साथै तिनै बालबालिकाहरु मार्फत अरु बालबालिकालाई समेत भर्ना गराउनका लागि उत्प्रेरित गर्ने पालिकाको भनाई छ ।

भर्ना अवधि भरी विद्यालयमा भर्ना अभियानको जिङ्गल बनाई बजाउने काम गरिने छ । यसका साथै स्थानीय एफ।एम।रेडियोहरुबाट जिंगलहरुको प्रसारण गर्ने र टोल टोलमा रहेका शिक्षाका सरोकारवाला र स्रष्टाहरुलाई पनि भर्ना अभियानको जिङ्गगल बनाउन सहयोग माग्ने योजना बनाएको छ ।

विद्यालयमा भर्ना हुन आउने बालबालिकाहरुको विभिन्न पक्षहरु समेटिने गरी सञ्चित अभिलेखको व्यवस्थापन गर्ने र त्यसका लागि हरेक विद्यार्थीका लागि अलग अलग फाइल समेत छपाई गरी अभिलेखलाई थप व्यवस्थित गर्ने पालिकाले दाबी गरेको छ ।

अभिभावकको समस्याको कारण वा आर्थिक अवस्थाका कारण पठन पाठन बाट बञ्चित भएका बालबालिकाहरुलाई बारबर्दिया ११ बेलभारमा रहेको बालबालिका संरक्षण केन्द्रमा व्यवस्थापन गरी भर्ना गर्ने जनाएको छ ।

कठिन अवस्थाका बालबालिकाहरुको विषेष क्षमताको आधारमा पहिचान गरी विशेष शिक्षा सञ्चालन हुने विद्यालयमा भर्ना गर्नुपर्ने भएमा उक्त विद्यालयसँग समन्वय गरी भर्ना गराउने कार्य नगरपालिकाबाट हुनुका साथै शारीरिक रुपमा अपाङ्ग विद्यार्थीहरुलाई ह्वील चियर तथा अन्य सहयोगी सामग्री वितरण गर्ने पालिकाले सार्वजनिक गरेको अपील मा उल्लेख गरेको छ ।

अपील मा उल्लेख भए अनुसार भर्खरै एसईई दिएर घर बसेका र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यार्थी भर्ना अभियानमा टोल विभाजन र जिम्मेवारी बाँडफाँट गरी परिचालन गरिने छ ।

यसका लागि नगरपालिकाबाट बालबालिकाहरुको घरधुरी सर्वेक्षण फाराम विकास गरी सम्बन्धित क्षेत्रमा उपलब्ध गराइने छ । घरधुरी सर्वेक्षणबाट विद्यालयमा भर्ना नभएका बालबालिकाको पहिचान गरी भर्ना गर्ने वातावरणको सृजना गरिने छ ।

त्यस्तै नगरपालिकाले विद्यार्थी भर्ना अभियान २०७९ को सिलसिलामा स्थानीय तहको शैक्षिक शैत्रमा कार्यरत विभिन्न सरकारी एवम् गैरसरकारी सघसंस्थाहरुसँग पालिका, वडा एवम् विद्यालय तहमा सहकार्य गरी विद्यार्थी भर्ना अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

२०७५ साल असार २८ गते अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता घोषणा भएको मुलुकै पहिलो स्थानीय तह भएको दाबी गर्दै नगरपालिकामा अझै पनि ५-१२ उमेर समूहका बालबालिकाहरु विद्यालय भर्ना नभएका विचमा छोडेका हुन सक्ने भएकाले सबै सरोकारवालाहरुले ती वालबालिकालाई विद्यालयमा भर्ना गरी नगरपालिकामा जानकारी गर्न अनुरोध गरेको छ ।

Previous articleमंगलबार सार्वजनिक बिदा
Next article“नेपालगन्जमा प्रशान्त र कमरुद्धिनको विकल्प छैन” : पुर्वमन्त्री राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here