खजुरामा गठबन्धनको प्रतिवद्धतापत्र सार्वजनिक (के छ घोषणापत्रमा हेर्नुहोस)

खजुरा । खजुरामा नेपाली कांग्रेस र नेकपा माओवादीले स्थानीय तहको निर्वाचनका लागि संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

‘विकासको प्रमुख आधार, एक व्यक्ति एक रोजगार, हामी विकासको पक्षमा बोल्छौं, जे बोल्छौं, समाजका लागि गर्र्छौं’ भन्ने मूल भावनालाई आत्मसाथ गर्दै तयार पारिएको घोषणापत्रमा खजुरा गाउँपालिकाका सबै वडाका समस्याहरुको खोजी गरी ती समस्याहरुको समाधान गर्ने उद्देश्यका साथ अल्पकालीन र दीर्घकालीनरूपमा गरिने कार्ययोजनालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

सार्वजनिक गरिएको घोषणापत्रमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, उच्च शिक्षामा छात्रवृत्तिदेखि लिएर खजुरामा युवाहरुका लागि स्वरोजगार कार्यक्रम, गाउँपालिकामा खरको छानोरहित सुरक्षित आवास, अधिकार सम्पन्न कृषि प्राधिकरण स्थापना गरी आधुनिक कृषि प्रणालीमा जोड दिने उल्लेख गरिएको छ ।

यसैगरी पालिकाको विकासका लागि भौतिक पूर्वाधार प्राधिकरण स्थापना गरेर विकास निर्माणको कार्यलाई अगाडि बढाउने, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने, खेलकुद विकास बोर्ड, कृषि व्यवसायमा आत्मनिर्भर कृषकहरुलाई कृषि कार्य गर्नको लागि निःशुल्क विद्युत मिटरको व्यवस्था गर्ने लगायतका योजनाहरु घोषणापत्रमा समेटिएको छ ।मंगलबार खजुरामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौर, गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार डम्बर विक तुफान, उपाध्यक्षका उम्मेदवार मञ्जु मल्ल र निर्वाचन परिचालन कमिटीका संयोजक राजकुमार विकले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्र सार्वजनिक गर्दै सहमहामन्त्री राठौरले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने जिम्मेवारी माओवादी र कांग्रेसका नेता तथा कार्यकताहरुको काँधमा आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपाली कांग्रेस यो देशको जिम्मेवार पार्टी हो ।

देशको परिस्थितिलाई कसरी सम्हालेर अगाडि बढाएर लैजाने भन्ने दायित्व हामीमा छ । हामीले आफूभित्रका असन्तुष्टिलाई थाँती राखेर अहिले सफलता हासिल गर्नुपर्नेछ । हामी सबैमाथि खजुरा गाउँपालिकालाई जिताउनै पर्ने जिम्मेवारी आइपरेको छ ।’

अध्यक्ष पदका उम्मेदवार तुफानले घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताले जितिसकेपछि नयाँ ढंगबाट लागू गराउन जिम्मेवार बोध गराउने बताउनुभयो ।

उहाँले जनताको सम्पूर्ण विकासको जिम्मा, कृषि, उद्योगको विकास, पूर्वाधारको विकास, शैक्षिक सुधार गर्ने लगायतका धेरै कुराको जवाफ प्रतिवद्धतापत्रमा रहेको बताउनुभयो ।

गठबन्धनले जितेपछि ती प्रतिवद्धताहरु पूरा गर्ने उहाँले बाचा गर्नुभयो । यसैगरी उपाध्यक्ष पदका उम्मेदवार मल्लले गठबन्धनलाई सफल बनाउनका लागि सहयोग गर्न सम्पूर्णमा अपिल गर्नुभयो ।

Previous article“नेपालगन्जमा प्रशान्त र कमरुद्धिनको विकल्प छैन” : पुर्वमन्त्री राई
Next article“नेपालगन्जलाई धार्मिक तथा सामाजिक सद्भावको नमुना शहर बनाउन जोड दिन्छु” : विष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here