
नेपालगञ्ज । बाँकेमा ६२ लाख रुपैया बराबरको अबैध सुनसहित एक जना पक्राउ परेका छन् ।
खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँस्थित सुबेदी चोकबाट ८ सय २ ग्राम ७३ मिलिग्राम सुनसहित बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोक बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शंकास्पद हिडिरहेका २८ वर्षीय अशोकलाई प्रहरी चौकी राधापुरबाट प्रहरी नायब निरीक्षक रविन्द्र बमको कमाण्डमा गएको खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा सुनका गहनासहित पक्राउ गरिएको हो ।
चेकजाँच गर्दा हार, मंगल सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित बिभिन्न प्रकारका सुनाका गहना फेला परेको प्रहरीले जनाएको छ ।
सिंहले बैशाख ४ गते भारतको ब्याङ्लोरस्थित सुन पसलबाट चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र भारतीय प्रहरीसंग समन्वय गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।





