काँग्रेस वडा नम्बर १८ को १८ प्रतिबद्धता : आफ्नै वार्डमा अस्पताल

नेपालगन्ज । सबैको साथ, सबैको विश्वास र सबैको विकास’ भन्ने मूलमन्त्रसहित नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ ले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाली काँग्रेस बाँकेका जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारी, काँग्रेस नेता मैकुशेष बेहना, काँग्रेस वडा सभापति जगदीश प्रसाद कुर्मी, उपप्रध्यापक डा राजेश केशर खनाल, शिक्षक नेता रमेशकुमार मिश्र, अधिबक्ता ईश्वरी प्रसाद ज्ञवाली, अग्रज नेताहरु संजय थापालगायतले प्रतिबद्धतापत्र सार्बजनिक गर्नुभएको थियो ।

उक्त प्रतिबद्धतापत्र कांग्रेसका वडा उपसभापति राजाराम सुवेदीले वाचन गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडामध्ये आफ्नो वडाको छुट्टै प्रतिबद्धतापत्र सार्वजनिक गर्ने वडा नं.१८ पहिलो हो । प्रतिबद्धतापत्रमा सम्बृद्ध वडाको परिकल्पा गरिएको छ ।

प्रतिबद्धतापत्रमा सामुदायिक विद्यालयको स्तरसुधार गर्दै संविधानले व्यवस्था गरे अनुसारको गुणस्तरीय निस्शुल्क शिक्षा सबैको पहुँचमा पुर्‍याउने तथा गुणस्तरीय सामुदायिक बाल विकास केन्द्रहरू संचालन गर्ने उल्लेख छ ।

यस्तै सबै सामुदायिक विद्यालयहरूमा पुस्तकालय, बालमैत्री कक्षाहरू, प्राविधिक शिक्षा, इ–लाइब्रेरी, शुद्ध खानेपानी, पर्याप्त शौचालय तथा स्यानेटरी प्याडको व्यवस्थाका लागि पहल गरिने भएको छ ।जेष्ठ नागरिकलाई नेपाल सरकारले तोके अनुसार निस्शुल्क वितरण गर्ने औषधिहरुलाई सहजरुपमा उपलब्ध गराइने, वडामा १५ बेडको अस्पताल निर्माण गरी एम.बि.बि.एस.चिकित्सकको व्यवस्था गर्ने, निस्शुल्क स्वास्थ्य बीमाको दायरा बढाउँदै सबै वडावासीलाई वीमा कार्यक्रममा आवद्ध गराउने, वडामा निस्शुल्क एम्बुलेन्सको व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

वडामा कृषि क्षेत्रको विकासका लागि कृषकहरूलाई सहजरूपमा सिंचाइँ, उन्नत बीउ विजन, कृषि तालिम तथा बजारीकरणका लागि सहकारीहरु स्थापना गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तै वडामा फोहर मैलाको निस्शुस्ल्क व्यवस्थापन गरिने भएको छ । नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार मंगलप्रसाद वर्मा (सानु)ले प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा आफु निर्वाचित भए सरकारी तलवभत्ता नलिने घोषणा गर्नुभएको छ । उहाँले उक्त तलवभत्ता गरिव तथा विपन्न वर्गको हितमा खर्चिने बताउनुभयो ।

नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा वर्मासँगै सदस्य पदमा केशु पोख्रेल (महिला सदस्य), सरोज सोनकर (दलित महिला सदस्य), रामबहादुर भण्डारी (खुल्ला सदस्य) र रामप्रसाद मुराउ (खुल्ला सदस्य) उम्मेदवार रहनुभएको छ ।

Previous articleबाँकेमा ६२ लाखको चोरी गरिएको सुनसहित एक जना पक्राउ
Next articleनरैनापुरमा एमालेको नारा-‘नरैनापुरमा सुर्य उदाउँछ, नरैनापुर बदलिन्छ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here