व्यवस्थापनमा कमजोर छ नेपालगन्ज : स्वातन्त्र उमेदवार थापा

नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकाको नेतृत्व जित्न पार्टीगत उमेदवारीसँगै स्वातन्त्र उमेदवारको पनि चर्चा चलिरहेको छ ।

सामाजिक सञ्जाल तथा व्यक्तिगत रुपमा स्वतन्त्र व्यक्तिलाई जिताउने तर्कको पनि कमी छैन ।

यसैबीच नेपालगन्ज उप–महानगरपालिकाको मेयरका उमेदवार दिनेश थापाको उमेदवारीले पनि चर्चा कमाउन सफल भएको छ । उहाँलाई चर्चामा ल्याउन उहाँले जारी गरेको प्रतिवद्धता नै हो ।

नेपालगन्जको विकासमा देखिएका कमी कमजोरीलाई औल्याउँदै दीर्घकालीन योजनासहितको उहाँको ६० बुँदे प्रतिवद्धतापत्रले नेपालगन्जवासीको ध्यान खिच्न सफल भएको छ । तर उहाँको प्रतिवद्धता ठूला–ठूला परिवर्तनका कुरा भने समावेश देखिदैन ।

थापा भन्नुभयो, ‘मलाई ठूलो परिवर्तन गर्न छैन । नेपालगन्जवासीका लागि चाहिने दैनिक सेवाहरुलाई प्रभावकारी रुपमा प्रवाह गर्नु नै हो ।’

सोमबार थापाले औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिवद्धता सार्वजनिक गर्नुभएको छ । तर उहाँले अनौपचारिक रुपमा भने यसअघिनै आफ्ना प्रतिवद्धता भने जनता सामु ल्याइसक्नुभएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसहितालाई पूर्णरुपमा लागू गर्दै थापाले सामान्य रुपमा आफ्नो प्रचार गर्दै आउनुभएको छ ।

उहाँ देखावटी प्रचारले भन्दा वौद्धिक व्यक्तिहरुसँगको भेटघाटले चुनाव जित्न सकिने तर्क गर्नुहुन्छ । त्यसैले थापा आफ्नो प्रतिवद्धतामा नेपालगन्ज उप–महानगरपालिकाले व्यवस्थापन गर्न नसकेका कुराहरुलाई नै बढी प्राथमिकता दिनुभएको छ ।उहाँ भन्नहुन्छ, ‘सरकारले जनतालाई धेरै सुविधा दिएको छ । तर त्यसको व्यवस्थापन हुन भने सकेको छैन । सामान्य कुराहरु पनि व्यवस्थापन हुन नसक्दा जनताले दुःख पाएका छन् ।’

के छ थापाको प्रतिवद्धतामा ?
थापाले सार्वजनिक गरेको प्रतिवद्धताको सुरुमा नै शिक्षालाई जोड दिनुभएको छ ।

त्यस्तै स्वास्थ्य, रोजगारी, पूर्वाधार, कृषि तथा पशुपालन, सामाजिक सुरक्षा, पर्यावरण तथा छाडा चौपाय, नाली तथा फोहोर व्यवस्थापन र सामाजिक सद्भावका विषयमा उहाँले प्रतिवद्धता जनाउनुभयो ।

थापाले सरकारले शिक्षामा ठूलो बजेट छुट्याए पनि सो अनुरुप नगरले विद्यालयलाई बजेट दिन नसकेको बताउनुहुन्छ । त्यस्तै उहाँले शिक्षा तथा योग्यता बोकेर नेपालगन्ज फर्केका युवाहरुलाई केही गर्ने वातावरण नै नभएको बताउनुभयो ।

त्यस्तै थापा नेपालगन्जमा बाटो तथा नालीको निर्माण भएता पनि त्यसको व्यस्थापन नहुँदा पानी निकास नहुने समस्या रहेको बताउनुहुन्छ । उहाँले जनतामा चेतनाको कमी भएका कारण नालीमानै सबै किसिमको फोहोर फालिने गरेको बताउनुभयो ।

Previous articleनरैनापुरमा एमालेको नारा-‘नरैनापुरमा सुर्य उदाउँछ, नरैनापुर बदलिन्छ’
Next articleईद-उल फित्र ‘ईद’ देशभर हर्षोल्लासका साथ मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here